नयाँदिल्ली- एयर इन्डिया एक्सप्रेसका करिब ३ सय कर्मचारीले एकैपटक बिरामी भएको सूचना दिएर मोबाइल स्विच अफ गरेपछि ८५ उडान रद्द गरिएको छ।
बिहीबार अन्तिम समयमा चालक दलका दर्जनौँ सदस्यसहितका कर्मचारीले बिरामी भएको सूचना दिएपछि उडान रद्द गर्नुपरेको एयरलाइन्स कम्पनीले जानकारी दिएको छ।
बिरामी भएको सूचना दिएर ३ सय जना कर्मचारीले मोबाइल फोन स्विच अफ गरेका थिए। यसपछि कम्पनीले उडान तालिका रद्द गर्न थालेको थियो।
यसरी अचानक अवरोध खडा हुँदा १५ हजारभन्दा बढी यात्रु प्रभावित भएका छन्।
‘हाम्रा पाहुनाहरूलाई असुविधा कम गर्न हरसम्भव प्रयास गरिएको छ। तर बिहीबार मात्र ८५ उडान रद्द गर्न बाध्य भएका छौँ,’ एयर इन्डिया एक्सप्रेसका एक जना प्रवक्ताले एनडीटीभीसँग भनेका छन्।
मंगलबारदेखि नै सुरु भएको कर्मचारीको विरोधका कारण कम्तीमा १ सय उडान रद्द गरिएको कम्पनीको भनाइ छ।
एयरलाइन्स प्रमुख कार्यकारी आलोक सिंहले आगामी दिनमा एयरलाइन्सले आफ्नो उडान तालिका घटाउन बाध्य भएको बताए।
‘हिजो साँझदेखि हाम्रा एक सयभन्दा बढी चालक दलका सदस्यहरूले आफ्नो निर्धारित ड्युुटीअघि अन्तिम समयमा बिरामी भएको सूचना दिनुभयो, यसबाट हाम्रो परिचालन गम्भीररूपमा अवरुद्ध भए,’ उनले भने, ‘यो कार्यले निश्चितरूपमा ड्युटीको आग्रहलाई प्रतिक्रिया दिन जारी राख्ने कम्पनीका दुई हजार चालक दलका सदस्यहरूको प्रतिनिधित्व गर्दैन।’
भारी ऋणमा डुबेपछि कम्पनी सन् २०२२ मा टाटा समूहले एयरलाइनलाई अधिग्रहण गरेको थियो।
कम्पनीको स्वामित्वमा परिवर्तन भएसँगै भर्ती र पदोन्नतिको नयाँ व्यवस्था गर्न लागिएको भन्दै कर्मचारीहरूले असन्तुष्टि व्यक्त गरेका हुन्।
मिडिया रिपोर्टहरूका अनुसार कम्पनीले यसअघि २० कर्मचारीलाई बर्खास्त गरेको थियो।
एयर इन्डिया एक्सप्रेसका प्रवक्ताले बिहीबार एयरलाइन्सले थप विवरण उल्लेख नगरी केही व्यक्तिविरुद्ध उचित कदम चालेको जानकारी दिए।
‘हामीले केही व्यक्तिविरुद्ध उचित कदम चालेका छौँ। किनकी उनीहरूको कार्यबाट हाम्रा पाहुनाहरूलाई गम्भीर असुविधा भएको छ,’ उनले भने।
भारतीय सञ्चारमाध्यमका अनुसार आक्रोशित यात्रुहरूले ढिलाइ र रद्द गरिएका उडानहरूको अपडेट प्रतीक्षा गरिरहेका कारण नयाँदिल्ली विमानस्थलमा बुधबार अराजक दृश्यहरू देखिएको थियो।


