काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्ने प्रयास भएकाले त्यसलाई असफल पार्नका लागि जसपा विभाजन भएको बताएका छन्।
एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘अस्थिरता ल्याउने प्रयासलाई असफल पार्नको लागि एउटा पार्टी विभाजन भएको छ,’ उनले भने, ‘उहाँहरूको अभिव्यक्ति सुन्नुभयो होला। यो समीकरण ढाल्न लागेपछि हामीले सहमत हुन नसकेपछि विभाजन गर्यौँ भनिराख्नुभएको छ।’
उनले वर्तमान सत्ता समीकरणलाई पोहोरको झैं दुई महिनामा सरकार उल्ट्याउने खेल भइरहेको पनि बताए।
‘१० सीट भएको पार्टी राष्ट्रिय पार्टी होइन। त्यस पार्टीको प्रतिनिधिले विश्वासको मत दिने बेलामा भएको छलफलमा म सम्झिरहेको छु। आक्रोशित र कुण्ठाग्रस्त थियो,’ नेकपा एसका अध्यक्ष माधव नेपाललाई लक्षित गर्दै भने, ‘त्यही कुरा यस बीचमा म प्रधानमन्त्री हुँदैछ भनेर कसैलाई भतभत पोलेको छ भने, कहाँ प्रधानमन्त्री हुन आँटेका हुन् ? त्यसैले अस्थिरता ल्याउने कोशिस लगातार भइरहेको छ।’


