काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कुनै पनि राजनीतिक दलको धम्कीसँग कांग्रेस नडराउने बताएका छन्।
काठमाडौंमा बिहीबार प्रजातान्त्रिक विचार समाजले गरेको कार्यक्रममा बोल्दै कोइरालाले यस्तो बताएका हुन्।
‘सहकारीबारे कांग्रेसले सदनमा कुरा राखेको हो। यसबारे कुनै राजनीतिक दलबाट कांग्रेसलाई जुन धम्कीको भाषा आइरहेको छ। राजाको धम्कीसँग कांग्रेस डराएन, कुनै दलको धम्कीसँग हामी डराउँदैनौं,’ कोइरालाले भने।
सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ। उनले अहिले देशको राजनीतिक परिस्थिति जटिल अवस्थामा गइरहेको पनि बताए।
‘भरतमोहन अधिकारी, जनार्दन शर्मालाई बोल्न दिइयो कि दिइएन त्यो आफ्नो ठाउँमा छ। तर हामीले बोल्न नदिने भनेको छैन, यो क्लियर हुनुपर्छ,’ उनले भने, ‘हामीले गृहमन्त्रीले आएर रोष्टममा बोल्नुहुन्छ, बोल्नुस्। हामीलाई चित्त बुझ्यो भने ठिक छ, बुझेन भने हामी त्यसपछि बोल्छौँभन्दा न गृहमन्त्रीले स्वीकार गर्नुभएको छ, न त एमालेले स्वीकारेको छ।’


