बनियानी (झापा)- कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि र उद्योगलाई सँगसँगै विकास गरेर लैजान आवश्यक रहेको बताएकी छन्। झापाको मेचीनगर-१४ स्थित सिङ्गापुर बेभरेज प्रालिको आज निरीक्षण गदै कृषिमन्त्री साहले कृषि क्षेत्रको विकास लागि उद्योगी-व्यवसायीलाई प्रोत्साहन आवश्यक रहेको बताएकी थिइन्।
‘मावन स्वास्थ्यसँग जोडिएको स्वस्थ्यकर र गुणस्तरीय उपभोग्य वस्तु उत्पादन गर्ने उद्योगहरुलाई प्रोत्साहन गर्न जरुरी छ’, उनले भने, ‘विभिन्न कार्यक्रमको माध्यमबाट कृषिसँग जोडिएका उद्योगलाई प्रोत्साहन गर्नुपर्छ, म मन्त्री भएको हैसियतले बेलाबेलामा छलफल गरिरहेको छु।’ उद्योगीलाई प्रोत्साहन गर्न देशभरि अभियानका रुपमा लैजानुपर्नेमा उनले जोड दिइन्।
खाद्यवस्तुको गुणस्तरको नियमन र सुधारका लागि सदनबाट खाद्य स्वास्थ्य गुणस्तर विधेयकका लागि नियमावली पास भएको बताउँदै त्यसका लागि सबैको साथ सहयोग जरुरी रहेको उल्लेख गरिन्। ‘यसले गुणस्तरहीन वस्तुको नियमन र नियन्त्रण गर्न सहज हुन्छ’, उनले भनिन्, ‘गलत गर्नेलाई कडा कारबाही गर्नुपर्छ।’ निरीक्षणका लागि आउनुभएका मन्त्री साह समक्ष उद्योगी-व्यवसायीले आफ्ना समस्या राखेका थिए। भारत, बङ्गलादेश, थाइल्याण्डलगायतका मुलुकबाट जुसका नाममा ‘फ्लेबर’ भएको पेय पदार्थ आयात हुँदा नेपाली उद्योगी मारमा परेको सिङ्गापुर बेभरेजका प्रबन्ध निर्देशक आशिष शर्माले बताए।
‘फ्लेबर मात्र भएको पेयपदार्थ नेपालमा आयात गर्न पाइँदैन’, उनले भने, ‘तर बजारमा छ्याप्छ्याप्ती त्यस्ता पेयपदार्थ पाइन्छ।’ सरकारले त्यस्तो कार्यको नियमन र अनुगमन नगर्दा नेपाली उद्योगी-व्यवसायी मारमा परेको उनको भनाइ छ।सात वर्षअघि स्थापना भएको सिङ्गापुर बेभरेजले ३२ वटाभन्दा बढी प्रकारका पेयपदार्थ उत्पादन गर्दै आएको छ। रु ८० करोड लगानी पुगिसकेको उद्योगमा हाल तीन सय ५० जनाले रोजगारी पाएका छन्। उद्योगबाट उत्पादित पेयपदार्थ युरोप, अमेरिकालगायत ३५ वटा मुलुकमा निर्यात हुँदै आएको जनाइएको छ।
