काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन)ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध ‘फायर’ खोलेका छन्।
सोमबार फेसबुकमा स्टाटस लेख्दै मेयर बालेनले ओलीले १० हजार करोड भ्रष्टाचारको काण्ड लुकाउन अर्को काण्ड ‘मच्चाएर’ जनता झुक्याउने प्रयास गरेको आरोप लगाएका हुन्।
ओलीले झापाको गिरिबन्धुमा बैना लिनेहरूलाई ‘दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं’ भनेर थम्थमाएको समेत मेयर बालेनको आरोप छ।
‘१० हजार करोड को कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू,’ बालेनले फेसबुकमा लेखेका छन्, ‘झापा गिरिबन्धुमा बैना लिनेहरूलाई “दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं ” भनेर थम्थमाउनु भएछ।’
१० हजार करोड भ्रष्टाचारको काण्ड लुकाउन राज्यको सम्पूर्ण शक्ति काठमाडौँ महानगरले गरिरहेका कामका विरुद्ध लगाएको समेत उनको आरोप छ।
काठमाडौँ महानगरले फुटपाथ विस्तारको काम थालेको थियो। तर उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको निर्देशनमा रोकिएको मेयर बालेनले यसअघि नै आरोप लगाएका थिए। ओलीका काण्ड लुकाइदिन एमाले पंक्तिले महानगरका काममा हस्तक्षेप गरेको मेयर बालेनको आरोप छ।
ओली प्रधानमन्त्री भएका बेला भूमिसम्बन्धी ऐन संशोधन गरी गिरिबन्धुको जग्गा सट्टापट्टा गर्न सक्ने व्यवस्था गरिएको थियो। पछि नियमावली पनि बनाए पनि नियमावलीका व्यवस्था पनि पूरा नगरी ओली सरकारले नै गिरिबन्धुको जग्गा साट्न स्वीकृति दिने निर्णय गरेको थियो।
अधिवक्ता ओमप्रकाश अर्यालले ओली सरकारको उक्त निर्णयविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता गराएका थिए। उक्त मुद्दामा फैसला गर्दै सर्वोच्चको संवैधानिक इजलासले ओली नेतृत्वको मन्त्रिपरिषदको निर्णय उल्ट्याइदिएको थियो। यसपछि सार्वजनिक रूपमा नै सर्वोच्चविरुद्ध केपी ओली खनिएका थिए।
ओली २०५१ मंसिर १४ गते गठित नेपालको पहिलो कम्युनिस्ट सरकारका गृहमन्त्री थिए। मनमोहन अधिकारी नेतृत्वको सरकार २०५२ भदौ २६ सम्म रहेको बेला गृहमन्त्री ओली थिए भने कृषि, भूमिसुधार तथा व्यवस्थामन्त्री एमालेकै नेता राधाकृष्ण मैनाली थिए।
ओली र मैनालीसमेत रहेको अधिकारी नेतृत्वको सरकारकै पालामा २०५२ जेठ ८ गते मन्त्रिस्तरीय निर्णय गरी गिरीबन्धु टी-इस्टेटले हदबन्दी छुट पाएको ५१ बिघा जग्गा नाज टी-इस्टेटका नाममा नामसारी गरिदिएको थियो। गिरिबन्धुले भगिनी कम्पनी खडा गरी नाजका नाममा उक्त जग्गा ल्याएको थियो। नाजमा आएको जग्गा २०६० सालमा बिक्री गरियो।
नाजलाई जग्गा दिने निर्णय गर्दा गृहमन्त्री रहेका केपी शर्मा ओलीले यो दोष भने कांग्रेसलाई थोपर्ने प्रयास गरिरहेका छन्। कांग्रेसले एकपल्ट ५१ बिघा र अर्कोपल्ट १९ बिघा गरी गिरीबन्धुको ७० बिघा जग्गा कमिसन खाएर बेचेको ओलीको आरोप लगाइदिएर यो विषयमा आफ्नो संलग्नता भएकोमा विषयान्तर गर्ने प्रयास गर्दै आइरहेका छन्।
यस्तो छ बालेनको स्टाटस
१० हजार करोड को कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू।
झापा गिरिबन्धुमा बैना लिनेहरूलाई “दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं” भनेर थम्थमाउनु भएछ। गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन।
यहि १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ।
अब बल्ल देश बन्ने भएछ। आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो। तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला। हामी साथमा छौँ।
अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला। नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला। हुन त, पहिले पनि जेल बस्नु भएको हो। धन्यवाद।
