काठमाडौँ- नेकपा एमालेका सचिव योगेश भट्टराईले गिरीबन्धु टी इस्टेटको जग्गा सट्टापट्टाको विषयमा सर्वोच्च अदालतको फैसलालाई लिएर आफ्नो पार्टी एमाले र अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास भएको बताएका छन्। मंगलबार प्रतिनिधि सभामा विशेष समयमा लिएर उनले यस्तो बताएका हुन्।
भट्टराईले गिरीबन्धुबारे भएका काम कानुनअनुसार भएको र कानुन बनाउँदा कांग्रेसको तर्फबाट कुनै संशोधन प्रस्ताव नभएको बताए। कांग्रेसले आफूतिर लागेका आरोप पन्छाउन अर्कोमाथि आरोप लगाउने काम गरेको उनको आरोप छ।
‘गाउँतिर एउटा उखान छ- काक्रा आफू खाने बियाँ अर्काको गालामा टाँसिदिने। नेपाली कांग्रेसले यस्तै गरिराख्या छ,’ सचिव भट्टराईले भने, ‘नेपाली कांग्रेसको अनुहारमा कालो पोतिएको होला। ऐन पुछेर हुँदैन। पछिल्लो समय त कांग्रेसका साथीहरु ऐन फुटाउनेतिर नै जानुभएको हो कि भन्ने लाग्छ। ऐना एक ठाउँको फुट्ला, पसलैपिच्छे ऐना छन्। त्यसैले सबै ऐन फुटाउन सकिँदैन।’
कांग्रेसले आफूमाथि लागेका आरोपहरु पन्छाउन गिरीबन्धुको विषय उठाइएको उनको टिप्पणी छ। ‘त्यो कानुन बनाउँदा कुनै पनि राजनीतिक दलको त्यसमा विमति थिएन। नेपाली कांग्रेसको पनि त्यसमा कुनै संशोधन प्रस्ताव थिएन। हामी सबैले मिलेर त्यो कानुन बनाएका हौँ,’ उनले भने।
उक्त कानुन कार्यान्वयन गर्ने क्रममा के कमीकमजोरी भएको भनेर अदालतले औंल्याएको र तयसलाइ एमालेले सम्मान गर्ने उनले बताए। तर, यो विषयलाई आफ्नो पार्टी र पार्टी अध्यक्षमाथि प्रश्न उठाइएकोमा उनको आपत्ति छ।
‘२०४६ साल पछाडिका वा अगाडि कुन कुन बेलाको छानबिन गर्नुपर्ने हो एमाले प्रत्येक छानबिनका लागि तयार छ। ऐनसेलको गर्ने हो कि, टेरामक्सको गर्ने हो कि, बाँसबारीको गर्ने हो कि, कोहलपुरको गर्ने हो कि, बालमन्दिरको गर्ने हो कि, बालुवाटारको गर्ने हो,’ उनले भने।
भ्रष्टाचार र अपराध गर्ने छुट कसैलाई नहुने र त्यस्तो छुट एमालेले पनि लिन नचाहने उनको भनाइ थियो।


