नयाँदिल्ली– प्रधानमन्त्री पुष्पकमल दाहालले भारत सरकारका नवनियुक्त मन्त्री एस जयशङ्करसँग भेट गरेका छन्।
दाहाल बसेको होटल ताजमा भेटका लागि सोमबार जयशंकर आएका थिए।
भेटमा द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता एवं समझदारी कार्यान्वयनका विषयमा छलफल प्रधानमन्त्रीको सचिवालयले दाबी गरेको छ।
भेटमा प्रचण्डले भारतको मन्त्री पदमा नियुक्त भएकोमा जयशङ्करलाई बधाइ र शुभकामना दिए।
जयशङ्करले प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन भारत आइदिएकोमा दाहाललाई धन्यवाद व्यक्त गरे।
दुई देशबीचका समझदारीको कार्यान्वयनमा भारत सरकार गम्भीरतापूर्वक लागेको र सन्तोषजनक प्रगति भइरहेको उनको जिकिर थियो।
भेटमा प्रधानमन्त्रीकी छोरी गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्रसचिव सेवा लम्साललगायत सहभागी थिए।


