काठमाडौँ- सर्लाहीको बागमती नगरपालिकाका मेयर र उपमेयरसहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूविरूद्ध मंगलबार मुद्दा दायर गरेको हो।
निलम्बित मेयर भरतकुमार थापा, उपमेयर लिलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल, लेखा अधिकृत विश्वराज पोखरेल र समन्वय समितिका तत्कालीन प्रमुख मेथुर चौधरीविरूद्ध अख्तियारले मुद्दा हालेको हो।
वडा नम्बर ४ र १२ मा रहेको माछापोखरी (भरतताल) निर्माण गर्दा उत्खनन गर्दा निस्किएको ढुंगा, गिटी, बालुवालगायत नदीजन्य पदार्थको बिक्रीमा अनियमितता गरेको आरोप उनीहरूमाथि छ।
यसरी उनीहरूले ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ रकम हानिनोक्सानी पुर्याएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो।
यसअघि गत चैतमा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा थापाविरूद्ध मुद्दा दायर भएको थियो। उक्त मुद्दामा उनीविरूद्ध ५ करोड ३३ लाख ५३ हजार १९० रुपैयाँ बिगो कायम गरेर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो।
त्यसयता उनी निलम्बित छन्।
भरतताल बनाउने थापाविरुद्ध भ्रष्टाचार मुद्दा, जग्गा किन्दै श्रीमती र भाइबुहारीका नाममा थन्क्याउँदै!


