ललितपुर- ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ४६ करोड ८३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ।
चालु वर्षका लागि ६ अर्ब ५० करोड रुपैयाँको बजेट ल्याएको ललितपुरले आगामी वर्षका लागि बजेटको आकार १५ प्रतिशतले बढी हो।
यसमध्ये चालूतर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९ हजार विनियोजन भएको छ। चालु आर्थिक वर्षका लागि २ अर्ब ४९ करोड ८४ लाख ४२ हजार रुपैयाँ चालू खर्चतर्फ विनियोजन भएको थियो।
पुँजीगत खर्चतर्फ आगामी आर्थिक वर्षका लागि ४अर्ब ६७ करोड ९४ लाख २३ हजार विनियोजन गरेको उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले जानकारी दिइन्।
पूर्वाधार विकास तर्फ १५ करोड थप गरी ४५ करोड ६२ लाख कायम हुने गरी बजेट छुटयाईएको छ।
आन्तरिक स्रोतको रूपमा रहेको आन्तरिक आय (आन्तरिक राजस्व, मालपोत रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर) आदी बाट ३ अर्ब ५५ करोड ९६ लाख सङ्कलन हुने महानगरको अनुमान छ। जसमध्ये विकास निर्माणमा जनसहभागिता बापत ८ करोड ५० लाख बराबरको रकम प्राप्त हुने अपेक्षा गरिएको छ।
अन्तर सरकारी अख्तियारीबाट ८० करोड ६५ लाख प्राप्त हुने अपेक्षा गरिएको छ। विनियोजन बजेटको लागि नपुग हुने १ अर्ब ५४ करोड ४५ लाख नगद मौज्दातबाट व्यहोरिनेछ।


