काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले महामन्त्री मुकुल ढकालले पार्टी सभापतिसमक्ष पेस गरेको प्रतिवेदनलाई गम्भीरताका साथ अध्ययन गरिने बताएका छन्।
बिहीबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद खनालले यस्तो बताएका हुन्।
पार्टी कमजोर भएको आवाज पार्टीभित्र उठेकाले महामन्त्री ढकाललाई समीक्षायात्रामा पठाइएको उनको भनाइ थियो।
‘स्वभाविक रुपमा अहिले चारैतिर हामी कमजोर भयौँ कि भन्ने आवाजहरु हाम्रै पार्टी पंक्तिका साथीहरुले नभनेका कुरा चाहीँ होइनन्। महामन्त्रीले जुन प्रतिवेदन हिजो सभापतिलाई बुझाउनुभयो, इलामको निर्वाचनपछि पार्टी सचिवालयले यही कुरा पत्ता लगाउन भनेर पार्टीले नै उहाँलाई खटाएको हो,’ खनालले थपे, ‘उहाँ स्वेच्छाले भन्दा पनि पार्टीको नेतृत्वले नै केही भइरहेको छ कि? केही समस्या छ कि भनेर पत्ता लगाउन खटाएको हो। उहाँले केही कुरा पत्ता लगाएर ल्याएको छु भनेपछि स्वभाविक रुपमा त्यसलाई हामीले अत्यन्त गम्भीरतापूर्वक अध्ययन गर्छौं। अध्ययनको आधारमा निष्कर्षहरु आइसकेपछाडि अनि थप प्रतिक्रिया राख्नु उचित हुन्छ होला।’
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीको राजनीतिक अवस्थाको समीक्षा गर्न भन्दै गत जेठ ६ गतेदेखि समीक्षा यात्रा सुरु गरी ३८ जिल्ला पुगेर गरेको समीक्षा प्रतिवेदन बुधवार सभापति रवि लामिछानेलाई बुझाएका थिए।


