काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीका महामन्त्री मुकुल ढकालका पक्षमा खासै पार्टीभित्र माहौल नभएको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग रविले पार्टीभित्र आफू बलियो रहेको तर महामन्त्रीका पक्षमा माहौल नभएको बताएका हुन्।
प्रधानमन्त्री कार्यालयमा पुगेका ओली र प्रचण्डले केही बेर कुराकानी गरेपछि अन्तिमतिर रविलाई पनि बोलाएका थिए।
ओली र प्रचण्डले रास्वपामा पछिल्ला दिनमा देखापरेका घटनाक्रमबारे चासो राखेका थिए। पार्टीमा खासै ठूलो केही नभएको रविको भनाइ थियो।
‘केही साथीहरूले महामन्त्रीको प्रतिवेदन बुझ्न हुन्न भनिराख्नु भएको थियो, तर मैले बुझेँ,’ सभापति लामिछानेले पार्टीका कुराबारे ओली र प्रचण्डलाई भनेका थिए, ‘प्रतिवेदन बुझाउने महामन्त्रीका पक्षमा खासै पार्टीभित्र माहौल छैन।’
रास्वपा महामन्त्री डा. मुकुल ढकालले ३९ जिल्ला घुमेर सभापति लामिछानेलाई प्रतिवेदन बुझाएका थिए। प्रतिवेदनमा उल्लेख भएका विषयमा रास्वपामा तीव्र विवाद छ। महामन्त्री ढकालमाथि गत शुक्रबार पार्टीको अनुशासन समितिले स्पष्टीकरण सोधेको छ।
महामन्त्री ढकालले भने आफूलाई स्पष्टीकरण सोध्ने अधिकार सभापति लामिछाने मात्र भएको भन्दै स्पष्टीकरण नपठाउने बताएका छन्।
महामन्त्री ढकालको प्रतिवेदनमाथि अबको केन्द्रीय समिति बैठकमा छलफल गर्ने तयारी रास्वपाले गरेको छ। उक्त बैठकलाई लाइभ गर्न महामन्त्री ढकालको प्रस्ताव छ।


