काठमाडौँ- आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ। पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि दिउँसो ३ बजे बैठक बस्न लागेको हो।
सभापति देउवाको निवास बूढानीलकण्ठमा पदाधिकारी तथा पूर्वपदाधिकारीसहित बैठक बस्नेछ। सभापति देउवाले गत शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि पदाधिकारी बैठक बोलाएका हुन्।
सभापति देउवाले शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ताका सन्दर्भमा छलफल हुने कांग्रेसका एक पदाधिकारीले बताए। ‘सभापतिजीले हिजो मात्र एमाले अध्यक्ष केपी ओलीजीसँग वार्ता गरेको विषय उठ्ने नै भयो। छलफलको एजेण्डा भने पार्टीको आन्तरिक विषय हो।’
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले आगामी केन्द्रीय समिति बैठकका सन्दर्भमा छलफल हुने बताए। उनका अनुसार १५ असारदेखि समयावधि सकिएका भातृ संस्था, गठन हुन नसकेका विभाग, केन्द्रीय समिति बैठकको मिति र समसामयिक विषयमा छलफल हुने छ।


