काठमाडौँ– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दा आज (मंगलबार) पनि हेर्दाहेर्दैमा परेको छ। सहकारी ठगीमा अनुसन्धान हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर रिटमाथि सर्वोच्चमा सुनुवाइ जारी छ।
न्यायाधीशद्वय सपना मल्ल प्रधान र शारंगा सुवेदीको संयुक्त इजलासमा असार ७ गतेदेखि अन्तिम सुनुवाइ सुरू भएको थियो। असार ७ मा पनि हेर्दाहेर्दैमा रहेको मुद्दाको सुनुवाइको आज पनि हेर्दाहेर्दैमा परेको हो।
यो मुद्दामा अर्को सुनुवाइ बुधबार हुनेछ। बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। यो मुद्दामा अब एक जनाको मात्र बहस बाँकी छ।
सहकारी ठगीमा संलग्न भएको भएको आरोपमा कुनै पनि जिल्लामा मुद्दा नरहेको पत्र गृहमन्त्री रवि लामिछानेलाई महान्यायाधिवक्ता दीनमणि पोखरेलले दिएका थिए। त्यसरी पत्र दिनु गैरकानुनी भएको भन्दै रविविरुद्ध अधिवक्ता अनुपम भट्टराईले रिट दर्ता गराएका थिए।
पदको दुरुपयोग गरी महान्यायाधिवक्ताबाट पत्र ल्याएको भन्दै रविलाई निलम्बन गरी अनुसन्धान हुनुपर्ने माग रिटमा गरिएको छ। रिटमा महान्यायाधिवक्ता कार्यालयसमेतलाई विपक्षी बनाइएको छ।


