काठमाडौँ नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई बुधबारसम्म राजीनामा दिन आग्रह गरेको छ।
मंगलबार बसेको सचिवालय बैठकले एमाले र कांग्रेसबीचमा भएको सहमति अनुसार संविधानको धारा ७६ (२) को अर्को सरकार निर्माण गर्न बुधबारसम्म मार्गप्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई आह्वान गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए।
एमालेले कांग्रेससँग भएको सहमति अनुसार अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन अरु दललाई पनि सहभागी हुन आह्वान गरेको छ।
कांग्रेस र एमालेबिचमा भएको राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई पार्टीले स्वागतसहित समर्थन गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। सरकारमा सहभागी भएर राजनीतिक स्थायित्व र समृद्धिका लागि योगदान गर्न सबै राजनीतिक दललाई आह्वान गर्ने बैठकले निर्णय गरेको उनले बताए।
उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री प्रचण्डले गत एक हप्तादेखि कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउन प्रयास र वार्ता थालेसँगै प्रधानमन्त्रीले अविश्वासको वातावरण सिर्जना गर्दा यो स्थिति आएको बताए। प्रधानमन्त्रीको प्रस्ताव कांग्रेसले अस्वीकार गरेपछि एमाले र कांग्रेसले छलफल अघि बढाएको बताए। उनले राजनीतिक स्थायित्व र लोकतन्त्रको अभ्यासका लागि दुई मिलेर अघि बढ्ने निर्णय भएको बताए।
सोमबार राति कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ। सरकारको नेतृत्वमा आलोपालो गर्ने र सुरुमा ओली प्रधानमन्त्री हुने सहमति भएको दुवै दलका नेताहरुको भनाइ छ।
राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन, मुलुकमा राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिका लागि योगदान गर्न सबै राजनीतिक दललाई आह्वान गर्ने र राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयोजनका लागि सरकारमा सहभागी हुन र सघाउन तथा सरकार बन्ने वातावरण बनाउन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्ने निर्णय गरेको ज्ञवालीले बताए।


