काठमाडौँ– नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेससँग मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने औपचारिक निर्णय गरिएकाले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी दिएका हुन्।
प्रधानमन्त्री प्रचण्डले पनि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने विश्वास उनले व्यक्त गरे।
केहीबेरमै औपचारिक रुपमा समर्थन फिर्ताको पत्र दर्ता गरी प्रधानमन्त्रीलाई बुझाउने तयारी एमालेको छ।
नयाँ सरकार बनाउन ठूला दुई दलले औपचारिक रूपमा निर्णय गरिसक्दा पनि अल्मतमा परेका प्रधानमन्त्री दाहालले राजीनामा नदिएका कारण उनलाई दिएको समर्थन फिर्ता लिइएको बर्तौलाको भनाइ छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन प्रक्रिया अघि बढाउन समर्थन फिर्ताको लिइएको उनले उल्लेख गरे।
सँगै एमालेका मन्त्रीहरूले राजीनामा बुझाउने तयारी गरेका छन्।


