विराटनगर– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै अस्थिरताका कारण कांग्रेस-एमाले एकैठाउँ उभिने स्थिति बनेको बताएका छन्।
प्रचण्डले अस्थिरता मच्चाउँदा आफ्नो व्यक्तिगत इच्छाविपरीत पार्टीले सरकारमा जानुपर्ने परिस्थिति बनेको उनको भनाइ छ। बिहीबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन्।
‘यो सरकार बन्ने या नबने भन्ने कुरा व्यक्ति वा दलको कारणले हुँदैन रहेछ,’ थापाले भने, ‘अहिलेको परिस्थिति बनेको वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको अस्थिरताको कारण नै हो। प्रचण्डको यति धेरै अस्थिर चरित्र नभएको भए अहिलेको अवस्था आउँदैन थियो। प्रचण्डले एमालेसँगै सरकार बनाएको ४ महिना पनि नपुग्दै अर्कैसँग लसपस गर्न हात खुट्टा पसारेपछि अहिलेको दुर्घटना निम्तिएको हो।’ थापाले केही दिन अघि कांग्रेस सरकारमा जान नहुने बताएका थिए। तर उनको अभिव्यक्ति आएको केही दिनमा कांग्रेस एमाले सत्ता सहकार्य गर्न तयार भएर समझदारी पनि गरिसकेका छन्।
थापाले कांग्रेसको नेतृत्वमा बनेको अहिलेको संविधान जोगाउने जिम्मेवारी पनि कांग्रेसकै बढी रहेको बताए। यद्यपि कांग्रेस र एमालेको सङ्ख्याले मात्रै संविधान संशोधन गर्न नपुग्ने भएकाले सबैलाई साथमा लिएर संविधान संशोधन गर्ने योजना उनले सुनाए।
वर्तमान सरकार सम्पूर्ण रुपमा अल्पमतमा परेको कारण प्रचण्डले मार्गप्रशस्त गर्ने उनको विश्वास छ। तपाई गृहमन्त्री हुने भन्ने सुनिएको छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा थापाले जवाफ दिए, ‘म महामन्त्री छँदै छु नि!’


