काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकले विनियोजन विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ.।
विधेयकअन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुमाथि सम्बन्धित मन्त्रीहरुले जवाफ दिने क्रम आज सकिएपछि उक्त विधेयक पारित भएको हो।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक निर्णयार्थ प्रस्तुत गर्दा बैठकले सर्वसम्मतिले पारित गरेको हो। उक्त विधेयक पारित गरियोस् भनी अर्थमन्त्री वर्षमान पुनले सभासमक्ष प्रस्ताव गरेका थिए।
दुवै सदनबाट पारित भएको विनियोजन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरणपछि नयाँ आर्थिक वर्षको पहिलो दिन (साउन १ गते) देखि लागू हुनेछ। आजको बैठकमा अर्थमन्त्री पुनले प्रस्तुत गर्नुभएको आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार विधेयक, २०८१ लाई विचार गरियोस् भन्ने प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ। ती विधेयकमा सांसदको संशोधन (सुझाव)का आधारमा आगामी बैठकमा दफाबार छलफल हुनेछ। राष्ट्रियसभाको अर्को बैठक यही असार २३ गते आइतबार बिहान ११ः१५ बजे बस्नेछ।


