काठमाडौँ- अन्तर लैङ्गिक सहभागितालाई विश्व महिला सम्मेलन ‘बेइजिङ प्लस’ मा जोड दिन महिला अधिकारकर्मीहरुले सुझाव दिएकी छन्। उक्त सम्मेलनमा दलित महिलाका मुद्दालाई प्राथमिकताका साथ उठाउन आवश्यक रहेको उनहरुले सुझाव दिएकी हुन्।
काठमाडौँमा आज दलित महिला सङ्घ (फेडो)ले दलित महिला पत्रकार र अधिवक्ताहरुबीच अन्तरक्रिया गरेको थियो। उक्त अन्तरक्रियामा सन् २०२५ मा हुन लागेको बेइजिङ प्लस सम्मेलनमा दलित महिलाका मुद्दा उठाउने अधिकारकर्मी दुर्गा शोवले बताइन्। फेडोको संस्थापक अध्यक्षसमेत रहीका शोवले अन्तर लैङ्गिकताका विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन्।
‘महिला भित्रै हुने विभेदमा पनि दलित महिला चरम विभेदमा छन्,’ उनले भनिन्, ‘हामीले मुद्दा उठाउँदा फरक अवस्था र लैङ्गिकताको अध्ययन गरेर उठाउनुपर्ने देखिन्छ।’ उनले फेडोले यिनै दलित महिलाका फरक भोगाई, चुनौती र समस्याका विषयलाई प्रमुख मुद्दा बनाएर बेइजिङ सम्मेलनमा प्रतिवेदन पेस गर्ने बताइन्।
अनुसन्धानकर्ता एवं मानव अधिकार अध्येता तनुजा बस्नेतले समग्र महिलाको तुलनामा दलित महिलाको अवस्था नितान्त फरक रहेको बताइन्। तसर्थ विश्व सम्मेलनमा दलित महिलाको मुद्दालाई छुट्टै र विशेष तरिकाले ध्यानार्कषण गराउन जरुरी रहेको उनको बुझाइ छ। ‘सीमान्तकृत समुदायको आवाज विश्वमा पु¥याउने थलो भनेको बेइजिङ प्लस सम्मेलन हो’, उनले भनिन्, ‘अन्तर लैङ्गिकताको विषयमा दलित महिलाका मुद्दा कमै उठाइन्छ, जुन संवेदनशील छ।’
सन् २०२५ मार्च ३० मा बेइजिङ प्लस हुँदैछ। यो बेइजिङ सम्मेलनको ३०औँ वार्षिकोत्सव हो। सम्मेलनमा नेपालका तर्फबाट महिलाका मुद्दा उजागर गर्दा दलित महिलालाई विशेष ध्यानाकर्षण गराउने उद्देश्यले फेडोले लक्षित वर्गसमक्ष सुझाव लिएको फेडोका महासचिव रेणु सिजापतीले बताइन्। अन्तरक्रियामा दलित महिला पत्रकार र अधिवक्ताहरुले लिखित रुपमा बुँदागत सुझाव दिएका थिए।


