काठमाडौँ– नेपाली कांग्रेसको संसदीय दलको बैठकले कांग्रेस-एमालेबीच भएको सत्ता सहकार्यको सम्झौतालाई अनुमोदन गरेको छ।
शनिबार नयाँबानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।
‘सत्ता सहकार्यका लागि एमालेसँग भएको सम्झौतालाई संसदीय दलको बैठकले अनुमोदन गरेको छ,’ कांग्रेसका मुख्य सचेतक रमेश लेखकले भने।
असार १७ गते कांग्रेस र एमालेबीच सुरुमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको थियो।
बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई विश्वासको मत नदिनेसमेत निर्णय गरेको छ।
सञ्चारमाध्यममा आएजस्तो संविधान संशोधन सुझाव कार्यदलका व्यक्तिको छनौट भने नभएको उनको भनाइ छ।
यसअघि सञ्चारमाध्यममा संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको संयोजकत्वमा सुझाव कार्यदल बनाउने कांग्रेस–एमालेबीच सम्झौता भएको सार्वजनिक भएको थियो।
असार १९ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको सहमति अनुमोदन गरेको थियो।
कांग्रेस-एमालेको सहमतिअनुसार मधेश प्रदेशका मुख्यमन्त्री सतीश सिंहलाई दुवै दलले विश्वासको मत दिएका छन्।
दुवै दलले प्रधानमन्त्री पुष्षकमल दाहाललाई राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरिसकेका छन्।
बैठकले बाढीपहिरो र डुबानमा परेकालाई सहयोग गर्नसमेत आह्वान गरेको छ।
बाढी, पहिरो र डुबानका कारण समस्यामा परेका नागरिकलाई सहयोग गर्न सबै भ्रातृ र शुभेच्छुक संस्थामा आबद्धहरूलाई कांग्रेसको आग्रह छ।


