काठमाडौँ- नेकपा एमाले प्रतिनिधि सभामा प्रतिपक्षको बेन्चमा पुगेको छ। एमालेले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पहिलोपटक प्रतिपक्षीको बेन्चमा बसेको हो।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सत्तापक्षभन्दा प्रतिपक्षीतर्फ सांसदहरूको संख्या धेरै देखिएको छ। प्रतिपक्षमा पुगेको एमालेले संसदबाटै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामासमेत मागेको छ।
नेकपा एमालेका सांसद रघुजी पन्तले भने, ‘लोकतन्त्रको सौन्दर्य भनेको त्यसको एउटा नैतिक पक्ष हुन्छ, नैतिक कुराहरू संविधानमा लेखिएको हुँदैन। अहिले नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुहोस्।’
प्रचण्डकै कारण नयाँ गठबन्धन बनेको उनको भनाइ थियो। प्रचण्डले संविधान पनि उल्लंघन गर्न थालेको उनको भनाइ थियो।
‘गएको जनवरीमा भारत गएर सन्धि गरेर आउनुभयो। नेपालको ऐनअनुसार १ महिनामा त्यो सन्धि संसदमा ल्याउनुपर्ने, अहिलेसम्म ल्याउनुभएको छैन,’ उनले भने, ‘यसरी संविधानको उल्लंघन गर्नुभएको छ। अहिले अल्पमतमा परिसकेपछि पनि संविधानको धारा ७६ को २ मा जान्छ कि ३ मा जान्छ त्यो राष्ट्रपतिज्यूको चिन्ताको विषय हो। उहाँको काम बहुमत नभएपछि तत्काल राजीनामा गरेर बाटो फुकाउने हो।’


