काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अब बन्ने सरकार संविधानको धारा ७६ को उपधारा २ अनुसारकै हुने बताएका छन्।
काठमाडौँको जोरपाटीमा मंगलबार खगेन्द्र नवजीवन विशेष विद्यालयको छात्रवृत्ति वितरण कार्यक्रममा कोइरालाले यस्तो बताएका हुन्।
बहुमत गुमाइसकेको भन्दै एमाले-कांग्रेसले राजीनामा माग गरिरहेको बेला हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन्।
प्रचण्डले विश्वासको मत जुटाउन नसके संविधान धारा ७६ को उपधारा (३) मा अनुसारको सरकार बन्न सक्ने विषयमा बहस भइरहेका बेला कोइरालाले आफ्नो धारणा राखेका हुन्।
‘अबको सरकार संविधानको धारा ७६ को २ अनुसार हुन्छ कि ३ अनुसार भन्ने विषय मिडियामा आइरहेको छ। म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु- यसमा अलमल हुने काम छैन, अब बन्ने सरकार ७६ (२) कै सरकार हुन्छ,’ उनले थपे, ‘यहाँ धेरै मिडियाहरूले मजा लागेको वा के हो मैले बुझ्न सकेको छैन, तर अब बन्ने सरकार संविधानको धारा ७६ को उपधारा २ अनुसारकै हुन्छ भन्ने कुरा तपाईंहरूको माझमा राख्न चाहन्छु।’
संविधानको धारा ७६ को उपधारा २ मा दुई वा दुईभन्दा बढी दलहरू मिलेर सरकार बन्ने व्यवस्था छ भने उपधारा ३ मा संसदको ठूलो दलको संसदीय दल नेताको नेतृत्वमा सरकार बन्ने व्यवस्था छ।
नेकपा (माओवादी केन्द्र) का सांसदहरू भने दाहालले विश्वासको मत गुमाए उपधारा ३ अनुसार सरकार गठन हुने दाबी गरिरहेका छन्।
‘मैले अस्ति केही कुरा गरेको थिएँ। त्यसलाई बङ्ग्याएर शेखर त ७६ (३) को सरकार खोजिराखेको हो कि भन्ने आभास तपाईंहरूलाई पनि भयो,’ उनले भने, ‘मैले सात/आठ महिनादेखि भनिरहेको थिएँ, स्थिरता दिनुपर्छ। तर कसैले विश्वास गरिरहेको थिएन। कांग्रेस र एमालेले ७६ को २ अनुसारकै सरकारमा जान्छ र राजनीतिक स्थायित्व दिन्छ, सँगसँगै सुशासन र संविधानमा भएका कमीकमजोरीलाई सुधारेर अघि बढ्छौं।’
नेपाली कांग्रेस र नेकपा (एमाले) बीच आलोपालो सरकारको नेतृत्व गरेर जाने सहमति छ।


