काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ।
बिहीबार कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डले राख्ने विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन्।
प्रधानमन्त्री प्रचण्डले २८ असारमा प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका छन्।
प्रमुख सचेतक लेखकले भोलि (शुक्रबार) को संसद बैठकमा अनिवार्य उपस्थित हुन पनि कांग्रेस सांसदहरूलाई ह्विप जारी गरेका छन्।
कांग्रेस-एमालेबीच नयाँ सत्ता सहकार्यका लागि सहमति भएको थियो। त्यसपछि एमालेले मन्त्रीहरूलाई राजीनामा गराएर प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
त्यसपछि जनता समाजवादी पार्टीले पनि समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो।
एमाले र जसपा सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएर संसदमा विश्वासको मत माग्न लागेका हुन्।



