काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले ४ महिनामा नै परिस्थिति आफूहरूको अनुकूलमा आउने जिकिर गरेका छन्।
शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत मागेपछि सुरु भएको छलफलमा उनले यस्तो बताएका हुन्। चौधरीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको सम्बन्ध सन्तुलनमा राख्न पनि प्रचण्डलाई आग्रह गरे।
‘आज परिस्थिति जस्तो भएपनि नेपाली कांग्रेसको सभापतिलाई दोषी नदेख्नुहोला। सन्तुलनमा राख्नुहोला, चार महिनामै परिस्थिति अनुकुल त भइहाल्छ,’ चौधरीले भने, आजको मिति गनेरै बसौँ, ४ महिनामा परिस्थिति अनुकुल तपाईंकै पक्षमा हुन्छ।’
प्रचण्डले साना राजनीतिक दललाई भुल्ने गरेको भन्दै उक्त कुरा उनको सामान्य विशेषता नै रहेको चौधरीले बताए।
‘प्रधानमन्त्रीले हामीलाई विश्वास गर्नुहुन्न। ठूला पाउँदा सानालाई भुल्नुहुन्छ, यो त उहाँको सामान्य विशेषता हो। हामी सम्झन्छौँ, किनकी तपाईं २०५२ देखि ६१/६२ सम्म नयाँ जागरणको नेतृत्व गर्नुभयो,’ चौधरीले भने, ‘अस्थिर र चन्चल स्वभाव भए पनि तपाईंको मन सफा छ। नियतमा खोट छैन। तपाईंले मान्छे चिन्नुहुने रहेनछ? अब त चिन्नुभएको होला नि? को कस्तो छ भनेर, हामी त तपाईंकै साथमा थियौँ, छौँ।’


