काठमाडौँ- राजनीतिशास्त्री प्राध्यापक कृष्ण खनालले राजनीतिलाई बौद्धिकताले डोहोर्याउनुपर्ने बताएका छन्। बीपी कोइरालापछि नेपाली राजनीतिलाई बौद्धिकताले डोहोर्याउन नसकेको बताएका हुन्।
शुक्रबार नेपाली कांग्रेसका लागि संवाद केन्द्र टक सेन्टरले आयोजना गरेको राजनीतिमा बौद्धिक समुदायको सहभागिता विषयक कार्यक्रममा बोल्दै उनले राजनीतिक दलहरूले आफ्नो पक्षमा माहोल सिर्जना गर्न बौद्धिक रोज्ने गरेको तर, असहमति प्रकट गर्ने बौद्धिकलाई मूलधारमा आउनै नदिने गरेको गुनासो गरे।
कार्यक्रममा बोल्दै प्राडा लालमणि पाण्डेयले कौटिल्यशास्त्रको राजनीति र अर्थनीतिको स्मरण गर्दै वर्तमान राजनीति र अर्थनीति बौद्धिकताको अभावमा दिशाहीन बन्दै गएको बताए। प्राध्यापक-शिक्षकहरू समाजका बौद्धिक व्यक्तित्व हुनाले उनीहरूलाई राजनीतिमा अंकुश लगाइरहनु नपर्ने भन्दै आफ्नै विवेक प्रयोग गर्न दिनुपर्नेमा जोड दिए।
यस्तै लोकतान्त्रिक कानुन व्यावसायी संघका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीले राजनीतिक दलहरूले बौद्धिक समुदाय समेट्न नसकेको र ऐन मौकामा उपयोग मात्र गर्ने गरेको बताए। साथै, राजनीतिले जनतामा वितृष्णा बढेकाले बौद्धिक वर्गले दलहरूलाई स्वतन्त्र ढंगले सुझाव दिँदै बौद्धिकताको स्वतन्त्र विकास गर्नपर्नेमा जोड दिए।
यसैगरी डा. विष्णुप्रसाद पोखरेलले युरोप फान्स लगायत कतिपय मुलुकमा बौद्धिक समुदायको राजनीतिमा प्रवेश भएपछि मात्र राजनीतिको विकास भएकाले नेपालमा पनि अब बौद्धिक वर्गबाटै राजनीतिको नेतृत्व गर्नुपर्ने बताए।
डा. इन्द्रा अधिकारीले बौद्धिक व्यक्ति कसरी दलमा आवद्ध हुने भन्ने बिषयमा दलहरू नै स्पष्ट हुनुपर्ने भन्दै राजनीतिक चेत बौद्धिक व्यक्तिहरूमा हुने हुँदा उनीहरूलाई दलीयकरण गरेर पेसालाई नै दलहरूले समस्यामा पार्न नहुनेतर्फ ध्यानाकर्षण गराइन्।
कार्यक्रममा बोल्दै डा. पिताम्बर भण्डारीले पेसाकर्मीहरू दलको शुभेच्छुकको रूपमा राजनीतिमा आवद्ध भएकामा प्रश्न उठेको बताए। पेसागत संगठन र बौद्धिक वर्गलाई छुट्याइ बौद्धिक वर्गको राजनीतिमा कसरी प्रतिनिधित्व गर्ने भन्ने विषय जटिल भएको उनको भनाइ थियो।


