काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफूहरूका कामबाट नागरिक खुशी नभएको बताएका छन्।
आफू कामचलाउ बनिसकेपछि मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी उनले यस्तो बताएका हुन्।
‘हामीलाई लागेको होला केके नै गर्यौँ। तर हाम्रा कामबाट नागरिक पटक्कै खुसी छैनन्,’ उनको भनाइ थियो।
नागरिक सन्तुष्ट नभएसम्म हामीले आफूहरूले सार्वजनिक गर्ने प्रगतिविवरणको पनि कुनै अर्थ नहुने उनको भनाइ थियो।
सरकार परिवर्तन हुनुको, मन्त्री आउनु र जानुको प्रभाव आमनागरिकमा पर्न नहुने भन्दै कानुनअनुसार काम गर्न मन्त्री परिवर्तनले केही फरक नपार्ने उनको भनाइ छ ।
आफ्नो बारेमा कुनै विषयमा अनुसन्धान अगाडि बढाउनुपर्ने लागेमा निःकङ्कोच अनुसन्धान अघि बढाउन आग्रह गरे।
नक्कली भूटानी शरणार्थी, टीकापुर, पतञ्जली र बालमन्दिर जग्गा प्रकरणबारे जारी अनुसन्धान निष्पक्ष र प्रभावकारी रुपमा अगाडि बढोस् भन्ने आफ्नो चाहना रहेको उनको भनाइ थियो।
सरकार परिवर्तन अनौठो कुरा नभएको उल्लेख गर्दै गृहमन्त्री लामिछानेले सरकार परिवर्तनको प्रभाव प्रहरी, कर्मचारी प्रशासनमा पर्न नहुने भएकोले सोको प्रभाव नपार्न गृह र सुरक्षा अधिकारीसँग आग्रह गरे।


