काठमाडौँ- नेकपा एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने ८ जना मन्त्रीको टुंगो लगाएको छ। शीर्ष नेताहरुको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको हो।
स्रोतका अनुसार एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी दिने तय भएको छ।
मन्त्री बन्ने अन्य नेताहरूमा उपमहासचिव पृथ्वीसुबबा गुरुङ, सचिवहरू योगेश भट्टराई र छविलाल विश्वकर्मा छन्।
त्यस्तै कृष्णगोपाल श्रेष्ठ, जुलीकुमारी महतो, विद्या भट्टराई र दामोदर भण्डारी पनि एमालेबाट मन्त्री बन्ने तय भएको छ।
उनीहरूले पाउने मन्त्रालयको बारेमा अझै केही बताइएको छैन। शपथ ग्रहणको बेलासम्म केही नाम र जिम्मेवारी हेरफेर हुनसक्ने भएकाले सार्वजनिक नगरिएको एमालेका एक नेताले बताए।
एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि, व्यवस्था तथा सहकारी, शिक्षा, विज्ञान तथा प्रविधि र सञ्चार तथा सूचनाप्रविधि मन्त्रालय पाएको छ।
यसअघि कांग्रेसले पनि सरकारमा सहभागी हुने मन्त्रीकाे नाम टुंगाे लगाएकाे छ। कांग्रेसबाट प्रकाशमान सिंहले उपप्रधानमन्त्री भएर सरकारको नेतृत्व गर्नेछन्। उनले ऊर्जा मन्त्रालयको विभागीय जिम्मेवारी पनि पाउनेछन्।
गृह मन्त्रालयमा रमेश लेखक, परराष्ट्रमा आरजु देउवा, वन वा कानुन मन्त्रालयमा अजय चौरसिया र सहरी विकासमा किशोरसिंह राठौरको नाम तय भएको छ। यी सबै संस्थापन समूहका हुन्।
संस्थापन इतरका शेखर कोइराला र गगन थापा नेतृत्वको समूहलाई ४ जनाको कोटा दिइएको छ। यस हिसाबले संस्थापन र इतर समूहबीच ५५ र ४५ प्रतिशतको भागबण्डा भएको देखिन्छ।
शेखर समूहको मन्त्री बन्ने चार जनामा स्वास्थ्यमा प्रदीप पौडेल, पर्यटनमा रामनाथ अधिकारी, कानुन वा कुनै एकमा हृदयराम थानी र ऊर्जा वा अर्को कुनै मन्त्रालयमा तेजुलाल चौधरीको नाम तय भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री नियुक्त भइसकेका छन्। उनले सोमबार शपथ लिँदैछन्। उनीसँगै कांग्रेस र एमालेबाट मन्त्रीको पनि टुंगो लगाइएको छ।
देउवासँग छलफलमा जानुअघि शेखर–गगन समूहका नेताहरूले छुट्टै छलफल गरेका थिए।


