काठमाडौँ- सरकारले अब मन्त्रिपरिषद् बैठकका निर्णयहरु २४ घण्टापछि मात्र सार्वजनिक गर्ने भएको छ। बैठकले सरकारको प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई तोकेको छ।
पहिलो मन्त्रिपरिषद्का निर्णयहरुबारे सञ्चारकर्मीहरुलाई जानकारी दिदै प्रवक्ता गुरुङले अबका दिनमा भने २४ घण्टापछि मात्र सार्वजनिक गर्ने बताए।
‘मन्त्रिपरिषदको निर्णयहरु २४ घण्टासम्म गोप्य रहन्छ, मन्त्रीहरुले पनि बाहिर लान पाउँदैन, तर हामी के गर्दा रहेछौं भने आज नै भन्दिँदा रहेछौं। त्यो हाम्रो गोपनीयताको विरुद्धमा हुन्छ, अब दोस्रो बैठकदेखि तपाईंहरुलाई जानकारी गराउनुपर्ने मन्त्रिपरिषदको फैसलाहरु त्यो दिन हुन्न, २४ घण्टापछि मैले नै मन्त्रालयमा जानकारी गराउने काम हुन्छ’, उनले भने ।
कुनै पनि निर्णय परिपक्क हुन समय चाहिने भएकाले यस्तो निर्णय गरेको उनको भनाइ छ।
यदि अति जरुरी र सार्वजनिक महत्वको विषय भएमा मन्त्रिपरिषदले निर्णय गरेर सार्वजनिक गर्न सक्ने मन्त्री गुरुङले बताए मन्त्रिपरिषदले निर्णय गरेको विषय कहिलेकाहीँ मन्त्रीले परिवर्तन गर्न पाउने भन्दै उनले पहिले नै सार्वजनिक गरेमा परिवर्तन गर्न समस्या हुने बताए।
‘मन्त्रीले कहिले कहिले (निर्णय) चेञ्ज गर्न पाउँछ, प्रक्रिया नपुगेको, मैले राम्रोसँग अध्ययन नगरेको भनेर त्यसैले पहिले नै भन्दियो भने चेन्ज गर्न समस्या हुन्छ नि’, मन्त्री गुरुङले भने।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको थियो।


