काठमाडौँ- रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१० भिमचौरमा बाढीपहिरोले दुई घर र एउटा टहरा बगाउँदा तीन बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेहरूमा स्थानीय १० वर्षीय हितमाया पुन, ८ वर्षीया धनषा पुन र ४ वर्षीया मनिषा सार्की रहेका छन्। घटनामा परेका डिल्लीबहादुर बुढाथोकी बेपत्ता छन्।
घटनामा परी ७ जना घाइते छन्। घाइते हुनेहरूमा १२ वर्षीय विनय सार्की, २२ वर्षीया मनीषा पुन, २९ वर्षीय जनक खत्री, ६ वर्षीया मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी छन्।
गएराति गिजा खोलामा आएको बाढीको चपेटामा उनीहरु परेका हुन्। घाइतेहरुलाई स्थानीयले राति नै उद्धार गरेर अस्पताल पठाएका थिए।
यसअघि असार ३२ गतेसम्म देशभरमा मनसुनी विपदमा परी मृत्यु हुनेको संख्या ११३ जना पुगेको छ।
काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २०, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा १३, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा आठजनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीकानुसार उपत्यकामा आठ, कोशी प्रदेशमा ३१, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २८, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा ११ गरी एक सय १९ जना घाइते भएका छन्।
अहिलेसम्म सिमलताल घटनाबाहेक सात जना बेपत्ता रहेका प्रहरीले जनाएको छ। उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार छ सय ३० घरपरिवार विस्थापित भएका प्रहरीले जनाएको छ।


