काठमाडौँ- एमाले नेतृत्वको कर्णाली प्रदेशमा माओवादीले सरकारबाट बाहिरिने सुरसार गरेको छैन।
नयाँ समीकरण बने पनि माओवादी सरकारमै छ। कर्णालीमा माओवादीका चार जना मन्त्रीहरू नियमित कामकाजमै छन्।
माओवादीकै समर्थनमा सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री यामलाल कँडेल पनि माओवादीका मन्त्रीहरूलाई बर्खास्त गरिहाल्ने स्थितिमा पुगिसेका छैनन्।
मुख्यमन्त्री कँडेलले अहिलेसम्म माओवादी केन्द्रका मन्त्रीसँग राजीनामा पनि मागेका छैनन्। तर, केन्द्रीय समीकरण अनुसार नै प्रदेशमा चल्नु पर्ने भएकाले एक खालको निर्णय लिन माओवादी केन्द्रका मन्त्रीहरूलाई आग्रह गरेको मुख्यमन्त्री कँडेलले बताए।
‘केन्द्रको समीकरण फेरिएका कारण सोही अनुसार नै प्रदेशमा पनि अगाडि बढ्नुपर्ने हुन्छ,’ मुख्यमन्त्री कँडेलले भने, ‘माओवादीका मन्त्री साथीहरूलाई पनि एक खालको निर्णय लिन भनेको छु।’
उता माओवादी केन्द्र भने अहिले नै सरकार छाड्ने पक्षमा छैन। केन्द्रमा माओवादीले विश्वासको मत नपाएका कारण सरकारबाट बाहिरिनु परे पनि प्रदेशमा राजीनामा दिइहाल्नु पर्ने स्थिति नआएको माओवादी कर्णाली संसदीय दलका प्रमुख सचेतक कृष्ण बहादुर जिसी बताउँछन्।
‘संघमा बनेको नयाँ समीकरण अनुसार नै कर्णाली प्रदेश सरकार बने कर्णालीको नेतृत्व एमालेले नै गर्ने बताइएको छ । यद्यपि सहमतिको वास्तविक पत्र भने बाहिर आइसकेको छैन ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा एमालेको १० र नेपाली कांग्रेसको १४ सांसद छन्। जबकि सरकार बनाउन २१ सांसदको समर्थन आवश्यक पर्छ।
