झापा–काँकडभिट्टा नाका हुँदै चालु आर्थिक वर्षको ९ महिनामा १७ करोड बढीको बन्दाकोभी भारत निर्यात गरिएको छ। धनकुटा, इलाम, झापालगायत जिल्लामा उत्पादित बन्दाकोभी भारत निर्यात गरिएको हो।
गत वर्ष साउनदेखि चैत मसान्तसम्म काँकडभिट्टा नाका भएर १७ करोड ६८ लाख ६८ हजार बराबरको १० हजार १०३ मेट्रिक टन बन्दाकोभी भारत निर्यात गरिएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्देश्वर ठाकुरले जानकारी दिए। काँकडभिट्टा नाकाबाट खाद्यान्न तथा कृषि उपज निर्यात हुने गरेको उनले बताए।
चालू आवको साउनदेखि चैत मसान्तसम्म सो नाकाबाट १६ अर्ब १९ करोड १७ लाख ३१ हजार बराबरको १ लाख ५६ हजार ९ सय ९२ मेट्रिक टन खाद्यान्न तथा कृषि उपज निर्यात भएको ठाकुरले जानकारी दिए।
सोही अवधिमा काँकडभिट्टा नाका भएर ९ अर्ब ३० करोड ५८ लाख ८० हजार बराबरको ३ लाख ६ हजार १२८ मेट्रिक टन खाद्यान्न तथा कषि उपज आयात भएको छ।
नेपालबाट सबैभन्दा धेरै निर्यात हुने मालवस्तुमा क्रमशः अलंैची, चिया, प्लाइउड र अदुवा रहेको छ भने सबैभन्दा धेरै आयात हुनेमा तरकारी, फलफूल, सोयाबिन र आलु रहेको कार्यालयले जनाएको छ।



