काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयमा दुई जनालाई सल्लाहकारमा नियुक्त गरेका छन्।
ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री डा युवराज खतिवडा नियुक्त भएका हुन्।
रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार थिए। ओली क्याबिनेटमा अर्थमन्त्री रहेका खतिवडा मन्त्रीबाट हटेपछि मन्त्रीसरहको सुविधा पाउने गरी आर्थिक सल्लाहकारमा नियुक्त गरेका थिए।
उनै खतिवडालाई ओलीले नै राजदूत बनाएर अमेरिका पनि पठाएका थिए। तर ओलीपछि प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले ओली सरकारले नियुक्त गरेका राजदूतलाई फिर्ता गर्ने निर्णय गरेको थियो।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले रिमाललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
