काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस र एमालेबीच भएको सहमति प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदबाट सार्वजनिक गर्नुपर्ने बताएका छन्।
४२औं बीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
आफैं हस्ताक्षरकर्ता भएकाले ओलीले नै उक्त सहमति सार्वजनिक गर्नु जिम्मेवारी भएको उनको भनाइ थियो।
प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा नै उक्त सहमति सार्वजनिक गर्नुपर्ने उनले उल्लेख गरे।
‘भोलि हाम्रो समर्थनमा बन्ने प्रधानमन्त्रीले विश्वासको मत लिँदै गर्दा कांग्रेस र एमालेबीच भएको ७ बुँदे समझदारी पढेर सुनाउनुपर्छ,’ थापाले भने।
कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति आफूहरुले पढेकाले कार्यसम्पादन समिति र संसदीय दलबाट निर्णय गरिएको थापाको भनाइ छ।
‘हामीले पढ्यौं, पढेकै आधारमा पार्टीभित्र निर्णय गर्यौं। पढेका आधारमा निर्णय गरेको हुनाले त्यसको मर्यादा राखौं भन्ने सोच्यौँ,’ थापाले थपे, ‘स्वयं त्यसको हस्ताक्षरकर्ता प्रधानमन्त्री बन्नुभएकाले उहाँको (संसदमार्फत सहमति सार्वजनिक गर्ने) जिम्मेवारी पनि हो, अवसर पनि हो र मलाई विश्वास पनि छ।’
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चकचक नगरेको भए कांग्रेस र एमालेबीच सहमति नहुने थापाको भनाइ थियो। अब दुई वर्ष कांग्रेसले ओलीलाई काम गर्न दिने थापाले उल्लेख गरे।
कांग्रेस-एमाले सहमतिका कारण कुनै पनि गैरकानुनी काम र भ्रष्टाचारमा उन्मुक्ति पाउन नहुने पनि उनले बताए।
संविधानको अहिलेसम्मको अभ्यासबाट २०० जनाभन्दा ठूलो संसद नचाहिने पुष्टि भएको, संघीय सरकारमा १० मन्त्रालय भए पुग्ने देखिएको महामन्त्री थापाले बताए। प्रदेशको मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित र ५ जना मन्त्री भए पुग्ने उनको भनाइ छ।


