काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ।
बैठक दिनको १२ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनको ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलले जनाएको छ।
बैठकमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन्।
विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजे प्रितिनिधि सभा बैठक बस्दैछ।
प्रतिनिधि सभामा कांग्रेसका ८८, एमालेका ७९, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, नेकपा (एकीकृत समाजवादी)का १०, जसपाका ७, जनमतका ६, जसपा नेपालका ५, लोसपाका ४, नेमकिपा, जनमोर्चा र आम जनता पार्टीका १र१ जना र दुईजना स्वतन्त्र सांसद छन्।
गत असार १७ गते कांग्रेस र एमाले मिलेर नयाँ समीकरण बनाएसँगै गत असार ३० गते एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए।
