काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले यथास्थितीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने बताएका छन्। आइतबार प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि राखेको प्रस्ताव माथिको छलफलमा भाग लिँदै उनले कांग्रेस र एमालेबीचको गठबन्धन विगतकै निरन्तरता भएकाले यथास्थितीमा विश्वासको मत दिन आवश्यक नभएको बताएका हुन्। उनले निर्वाचनको परिणाम आउने वित्तिकै आफूले कांग्रेस र एमालेले मिलेर सरकार बनाउन् भनेर सार्वजनिकरुपमा बोलेको स्मरण गरे। तर त्यो बेला नमिलेर अहिले स्वार्थ मिलेका कारण दुई दलले सरकार बनाएको बताए।
‘मैले निर्वाचन परिणाम आउने वित्तिकै कांग्रेस र एमाले मिलेर सरकार बनाउन् भनेर भनेको हुँ। अहिले मिल्नुभएको छ। स्वार्थ मिलुनजेल मिल्नुभएको छ,’ उनले भने, ‘देशका लागि मिल्नुएको हो भने नयाँ ढंगले सोचेर अघि बढ्नुपर्छ। यो गल्ती सच्चाउने अन्तिम मौका हो।’
लिङ्देनले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा आफूले नेताहरुलाई जनताले चोर भन्ने गरेको बताएको भन्दै जनताले नेतालाई हेर्ने दृष्टिकोण अझ विग्रिएको बताए।
‘मैले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा जे कुरा भनेको थिएँ। अहिले प्रधानमन्त्री बाहेक सबै नेताहरु याहिँ हुनुहुन्छ। उहाँ पनि यतैकतैबाट सुनिरहनुभएको छ। अरु नेताहरुले सुनिरहनुभएको छ,’ उनले भने, ‘मैले त्यो बेला राजनीतिक दल र नेताहरुप्रति जनताको राम्रो धारणा छैन भनेर जे कुरा मैले भनेँ त्यसबेला सबै आइलाग्ला जस्तो स्थिती बन्यो धन्न मैले त्यो बेला बोलेर हिँडिसकको थिएँ। नत्र त ठोकठाकै हुन्थ्यो कि जस्तो स्थिती बन्यो। सबै नेताहरुले आक्रोश पोख्नुभयो। तर अहिले फेरी त्यो कुरा दोहोर्याउँछु त्यही शब्द त दोहोर्याउन चाहान्नँ। तर परिस्थिती अहिले पनि परिवर्तन भएको छैन। जनेता प्रति जनताको धारणा अझ विग्रिएको छ।’
