काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले केपी शर्मा ओली नेतृत्वको सरकारले सुरुवातमै देखाएका संकेतहरुले आफूहरूलाई झस्काएको टिप्पणी गरेका छन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा भाग लिँदै लामिछानेले यस्तो बताएका हुन्।
‘जहाँ-जहाँ हामीले विषय उठायौँ, त्यहाँ-त्यहाँ पुरस्कार देखियो। नक्कली भुटानी शरणार्थीको विषयमा पुनः अनुसन्धान सुरु भयो। मन्त्रीमण्डलमा को गयो? संसद् र देशलाई राम्रोसँग थाहा छ’, लामिछानेले भने, ‘अनि प्रश्न उठ्यो। बालमन्दिरको विषय उठायौँ। सरकारमा को सहभागी भयो त्यो पनि देखेकै छौँ।’
गुण र दोषका आधारमा विरोध र समर्थन गर्ने गरी प्रतिपक्ष भएर बस्ने उनले बताए।
आफू सरकारमा गएको ५ महिनामा देशको हरिबिजोग बनाएको हो भन्दै ३४ वर्षमा देशमा सत्तामा बसेकाहरूले बिग्रेको देशको जिम्मा लिनुपर्ने बताए।
आफ्नो कार्यकालमा विभिन्न भ्रष्टाचारबारे अनुसन्धान सुरु गरेकोमा त्यसलाई ‘स्टन्ट’ भनेकोमा आपत्ति जनाए। उनले भने, ‘स्टन्ट होइन, हामी त्यसलाई आँट, विधि र साहस भन्छौँ।’
‘तर त्यो विश्वास डगमगायो। जुन ढंगले सरकार बन्यो र विषय अघि बढ्यो। विश्वासको मत दिन पनि सकिन्थ्यो होला। तर जुन संकेत सुरुमा देखियो त्यसले हामीलाई झस्काएको छ’, लामिछानेको भनाइ छ।
