रूपन्देही- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन्।
सोमबार दिउँसो ५६ सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्री दावी पेस गरेपछि प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नका लागि एमालेका २९ तथा कांग्रेसका २७ सांसदहरूले हस्ताक्षर गरी शेरचनसमक्ष दाबी पेस गरेका थिए।
यसअघि एमाले संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री बन्ने निश्चित भएको भनिएपनि पार्टीको केन्द्रले हस्तक्षेप गरेर आचार्यलाई अघि सारेको थियो।
संसदीय दलका नेता गिरी पार्टीका उपाध्यक्षसमेत रहेका अर्थमन्त्री विष्णु पौडेल निकट मानिन्छन्।
पौडेल निकट गिरीलाई अचानक पछाडि पार्दै पार्टीका महासचिव निकट नेता आचार्यलाई मुख्यमन्त्रीमा अघि सारिएको हो।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री बन्नबाट रोकिएपछि गिरीले असन्तुष्टि व्यक्त गरेका छन्। पार्टी संसदीय मूल्यमान्यता विपरीत गएको गिरीको आरोप छ।


