काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा माआवोदी केन्द्र अध्यक्षसमेत रहेका पूर्वप्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड राज्य व्यवस्था तथा सुशासन समितिको सदस्यमा मनोनित भएका छन्।
यस्तै पूर्वगृहमन्त्री रवि लामिछाने पनि उक्त समितिमा मनोनित भएका छन्।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उक्त हेरफेरिलाई प्रतिनिधि सभाले सहमति जनाएको घोषणा गरेपछि उनीहरू दुवै जना समिति सदस्य बनेका हुन्।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा समितिमा सभापति छन्।
रवि गृहमन्त्री बन्नुअघि पनि सोही समितिमा थिए।
कांग्रेस सांसद पूर्णबहादुर खड्का, एमाले सांसद राजेन्द्रकुमार राई पनि राज्य व्यवस्थामा पुगेका छन्।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सदस्यमा माओवादी सांसद हितबहादुर तामाङ, एमाले सांसद हरिप्रसाद उप्रेती मनोनित भएका छन्।
अर्थ समितिमा माओवादी सांसद वर्षमान पुन, एमाले सांसद पदम गिरी, भगवती चौधरी र रास्वपाका सांसद विराजभक्त श्रेष्ठ मनोनित भए।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सदस्यमा रास्वपाका डोलप्रसाद अर्याल र एमाले सांसद रघुवीर महासेठ मनोनित भएका छन्।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा माओवादी सांसद रेखा शर्मा र रास्वपाका सांसद सुमना श्रेष्ठ मनोनित भएका छन्।
कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सदस्यमा एमाले सांसद ज्वालाकुमारी साह सदस्य बनेकी छन्।
शिक्षा समितिबाट कृषि समितिमा मीना यादवलाई लगिएको छ।
यस्तै पूर्वाधार विकास समितिमा माओवादी सांसद शक्तिबहादुर बस्नेत मनोनीत भएका छन्।
संघीय संसदको संसदीय सुनुवाइ संयुक्त समितिका सदस्य रमेश लेखक गृहमन्त्री भएसँगै उनको ठाउँमा कांग्रसका सांसद श्यामकुमार घिमिरे मनोनित भएका छन्। रास्वपाका सांसद स्वर्णिम वाग्लेको सट्टा डोलप्रसाद अर्याल उक्त समितिमा मनोनित भएका छन्।


