विराटनगर- संघ सरकारको नेतृत्वबाट बाहिरिएको नेकपा माओवादी धमाधम प्रदेश सरकारहरूबाट पनि बाहिरिने क्रम जारी छ।
यसअघि लुम्बिनी र बागमती सरकारबाट बाहिरिएको माओवादी कोशीमा पनि प्रतिपक्षी कित्तामा पुग्ने भएको हो।
कोशी प्रदेश सरकारमा रहेका माओवादीका ४ मन्त्रीले राजीनामा दिने तयारी गरेका छन्।
नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दलको बैठक बसेर निर्णय गर्ने बताए।
माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास मन्त्रीमा, राजेन्द्र कार्की स्वास्थ्य मन्त्री, नारायण बुर्जा मगर पर्यटन वन तथा वातावरणमन्त्री रहेका छन्।
यस्तै वन्दना झाँगड पर्यटन वन तथा वातावरण राज्यमन्त्री छन्।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले यसअघि नै माओवादी मन्त्रीहरूलाई राजीनामा दिन भनिसकेका छन्। नयाँ सरकार निर्माण गर्नुपर्ने दबाब परेको भन्दै कार्कीले माओवादी मन्त्रीहरूलाई आफैँ राजीनामा दिन भनेका हुन्।
मुख्यमन्त्रीको सहजताको लागि सरकारबाट बाहिरिन लागेको माओवादीले जनाएको छ। माओवादीका चारै मन्त्रीहरूले राजीनामा बुझाउने तयारी गरेका छन्।
कार्की पछिल्लो पटक वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।


