काठमाडौँ– संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन गठित कार्यदलले सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको छ।
कांग्रेस, एमाले र माओवादीका नेता रहेको कार्यदलको शुक्रबार बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो।
कार्यदल सदस्यसमेत रहेका एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलालले छलफल गरी प्रतिवेदनलाई अन्तिम रूप दिइने बताए।
कार्यदलले कानुनमन्त्री र कानुनसचिव, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिवलगायतका सरोकारवालाहरूसँग छलफल गर्ने निर्णय गरेको हो।
‘त्यसपछि अन्तिम बैठक बसेर हामी शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाउँछौं,’ बर्तौलाले भने।


