विराटनगर– नेकपा (माओवादी केन्द्र)बाट कोशी प्रदेश सरकारमा सहभागी भएका ४ मन्त्रीले राजीनामा दिएका छन्।
विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई माओवादीका चारै जना मन्त्रीले राजीनामा बुझाएका हुन्।
राजीनामा बुझाउनेमा भौतिक पूर्वाधार विकासमन्त्री गणेश उप्रेती, स्वास्थ्यमन्त्री राजेन्द्रकुमार कार्की र पर्यटन, वन तथा वातावरणमन्त्री नारायणबहादुर मगर र पर्यटन राज्यमन्त्री वन्दना झाँगर छन्।
सरकारलाई दिएको समर्थन कायमै राखेर माओवादी सरकारबाट बाहिरिएको हो। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको आग्रहमा राजीनामा दिइएको माओवादीको भनाइ छ।
गत असार १७ गते केन्द्रमा नेपाली काङ्ग्रेस र नेकपा एमालेबिच गठबन्धन गर्ने सहमति भएपछि प्रतिपक्षमा पुगेको माओवादी केन्द्र कोशी सरकारबाट बाहिएको हो।
संघ सरकारको नेतृत्व गरिरहेको माओवादी प्रदेश सरकारहरूबाट पनि धमाधम बाहिरिइरहेको छ। मधेश, बागमती र लुम्बिनीमा माओवादी प्रतिपक्षी कित्तामा पुगिसकेको छ।
साउन ७ गते कर्णाली प्रदेश सरकारबाट पनि नेकपा माओवादी केन्द्र बाहिरिएको छ। मुख्यन्त्री यामलाल कँडेललाई चार जना माओवादी मन्त्रीले राजीनामा पत्र बुझाइसकेका छन्।
सुदूरपश्चिम सरकारमा रहेको माओवादी त्यहाँबाट पनि सरकार छोड्ने तयारीमा छ। संघ, लुम्बिनी र बागमतीमा सरकारको नेतृत्व र बाँकी प्रदेशमा सत्ता साझेदारी गरिरहेको माओवादी संघ र प्रदेशका सबै सरकारबाट प्रतिपक्षमा पुग्ने लयमा छ।


