काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले फेरी सडकमा पलेँटी कसेर बस्न तयार हुनु पर्ने बताएका छन्। पुष्पलालको जन्म शताब्दीका अवसरमा आयोजित कार्यक्रममा उनले संविधान संशोधन गरेर प्रतिगमन हुन लागे आफूहरु सडकमा आउने बताएका हुन्।
प्रचण्डले भने, ‘दुई ठूला दल मिल्नु सामान्यतः स्वाभाविक हुँदैन। देशलाई दुई दलीय व्यवस्थामा लाने र संविधान संशोधनको उद्देश्य लिएर मिलेको देखिन्छ। जनताले लामो आन्दोलन र ठूलो बलिदानीपछि प्राप्त अधिकार खोस्ने प्रयत्न हुँदैछ। त्यो हुन दिँदैनौं। आवश्यक परे फेरि सडकमा पलेँटी कसेर बस्न तयार छौं।’
संविधान संशोधनको पक्षमा आफू पनि रहेको बताउँदै उनले संशोधनको नाममा प्रतिगमनतिर फर्काउने प्रयास स्वीकार्य नहुने बताए। प्रचण्डले कांग्रेस–एमालेले थ्रेसहोल्ड बढाएर साना पार्टीहरूलाई निस्तेज पार्न खोजेको आशंका व्यक्त गरे।
कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालले आफूहरु एकै ठाउँमा रहेको सन्देश दिएका छन्।
कार्यक्रममा उनीहरुले कांग्रेस–एमालेले संविधान संशोधनको कुरा ल्याएकोप्रति आपत्ति जनाए। दुई ठूला दल मिलेर जनताको प्राप्त उपलब्धि र अधिकार खोस्न खोजेको उनीहरुको निष्कर्ष थियो ।
यस्तै, नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले संविधान संशोधनको बहस आवश्यक रहेको भए पनि गुपचुप गरेकाले आशंका देखिएको बताए। उनले पनि संविधान संशोधनको नाममा अर्कै खेलोमेलो हुनसक्ने भएकाले सचेत हुनुपर्नेमा जोड दिए।
नेकपा एसका सम्मानित नेता झलनाथ खनालले दुई पार्टीको अधिनायकवादको विरुद्ध मेचीदेखि महाकालीसम्म संग्राम सुरु गर्ने चेतावनी दिए। समानुपातिक प्रणालीलाई चलाउन खोजे आफूहरु मौन नबस्ने उनको भनाइ थियो।
उनले भने, ‘दुई ठूला पार्टी मिलेर सरकार बनाएर संविधान संशोधन गर्छु भन्दैछन्, केका लागि ? अहिलेसम्म दुई पार्टीले गरेको तथाकथित सात बुँदे सहमति खै, कहाँ आयो ? संसदमा पनि ढाँटिएको छ। संसदमा लिखित हस्ताक्षर गरिएको किन प्रस्तुत गर्न सकेनन्, किन लुकाइराखेका छन् ? कसैले नौ बुँदे भन्दैछन्, खै सही गरेको देखेको छ। यो संविधान केमा संशोधन गर्ने, दुइटा पार्टीको निगाहले बनाइएको होइन।’
त्यसो त नेकपाकालमा ओलीले संसद विघटन गरेपछि प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल त्यसको विरुद्धमा माइतीघरको सडकमा पलेँटी बसेका थिए । अहिले पनि संविधान चलाउन खोजे सदनदेखि सडक चर्काउने अभिव्यक्ति दिँदै आएका नेताहरुले आफूहरु फेरि सडकमा बस्न तयार भएको अभिव्यक्ति दिएका हुन् ।


