काठमाडौँ- सरकारले चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीलाई सिफारिस गरेको छ।
अघिल्लो सरकारले पठाएका विष्णुपुकार श्रेष्ठलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले फिर्ता बोलाएर उनको ठाउँमा ओलीलाई सिफारिस गरेको हो।
यसअघि विद्यादेवी भण्डारी राष्ट्रपति हुँदा उनलाई वातावरणका क्षेत्रमा विज्ञ रुपमा नियुक्ति गरेकी थिइन्। उनी राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष पनि भइसकेका व्यक्ति हुन्।
माओवादी केन्द्र निकटका श्रेष्ठ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा राजदूत नियुक्त भएका थिए।
मन्त्रिपरिषद बैठकले अमेरिकामा लोकदर्शन रेग्मी, बेलायतमा चन्द्र घिमिरे, दक्षिण कोरियामा शिवमाया तुम्बाहाङ्फे, मलेसियामा डा. नेत्र तिमल्सिना सिफारिस गरेको छ।
त्यस्तै भारतका लागि नेपाली राजदूतमा भने शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए।


