काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि शपथ लिन गएको नेपाली टोलीले झन्डै साढे २० लाख रुपैयाँ खर्च गरेको खुलासा भएको छ।
प्रधानमन्त्री दाहालको भ्रमणका लागि अर्थ मन्त्रालयले २० लाख ४० हजार रुपैयाँ परराष्ट्रलाई भुक्तानी गरेको हो।
नेपालका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मोदीको शपथ समारोहमा भाग लिन भारत गएका थिए।
गत जेठ २७ गते प्रचण्ड नयाँदिल्ली गएका थिए। त्यसको भोलिपल्टै उनी स्वदेश फर्किएका थिए।
राष्ट्रपतिले युरोपमा सके अढाई करोड
राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमणमा झन्डै साढे दुई करोड रुपैयाँ खर्च भएको छ।
जेठ २९ गते स्वीट्जरल्यान्डका लागि प्रस्थान गरेका राष्ट्रपति पौडेल असार ५ गते काठमाडौँमा अवतरण गरेका थिए।
अर्थ मन्त्रालयले राष्ट्रपति पौडेलको युरोप भ्रमणवापत २ करोड ४३ लाख रुपैयाँ परराष्ट्र मन्त्रालयलाई पठाएको छ।
पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनका लागि स्विटजरल्यान्ड गएका थिए।
स्विटजरल्यान्डपछि पौडेल जर्मनी गए। राष्ट्रपतिलाई यी दुई देश घुमाउन सरकारको खाताबाट झन्डै साढे २ करोड रुपैयाँ खर्च भएको हो।
राष्ट्रपति पौडेलका साथमा राष्ट्पतिकी पत्नी सविता पौडेल, राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवलगायत सहभागी थिए।
