धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएका छन्। शुक्रवार प्रदेश सभालाई सम्बोधन गरेलगत्तै मुख्यमन्त्री सोडारीले प्रदेश प्रमुखसँग भेट गरी राजीनामा बुझाएका हुन्।
प्रदेश सभाबाट विश्वासको मत पाउने नदेखेपछि सोडारीले १०५ दिन मुख्यमन्त्रीको कार्यभार सम्हालेपछि राजीनामा दिएका हुन्।
वैशाख ६ गते नेकपा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्र प्रदेश सभा सदस्य डाक्टर ताराप्रसाद जोशीको समर्थनमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारी मुख्यमन्त्री बनेका थिए।
नेकपा एमालेले असार २० गते समर्थन फिर्ता लिएपछि सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो।
‘सरकारले प्रदेश सभा अन्त्य गरेको ५ दिनपछि मात्रै प्रदेश प्रमुखले स्वीकृत गर्नुभयो,’ उनले भने, ‘सभा अन्त्य भएको पत्र सँगसँगै अर्को चिठी आयो विशेष अधिवेशनको,’ उनले भने, ‘यो पटक संसारमै नभएको जात्रा देखियो।’
सोडारीले प्रदेशसभामा सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका थिए। विश्वासको मतका लागि प्रस्ताव गर्नका लागि बोलाइएको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै सोडारीले राजीनामा दिने घोषणा गरेका हुन्।
केही बेरअघिसम्म विश्वासको मतका लागि प्रस्ताव गर्ने र विश्वासको मत नजुटे राजीनामा दिने तयारीमा रहेका सोडारी अन्ततः विश्वासको मतका लागि प्रक्रिया अघि नबढाई ‘मार्गप्रशस्त’ गर्ने जानकारी गराएका थिए।
कांग्रेस र एमालेसहितका विपक्षी दलका सांसदले प्रदेशसभा बैठकमा भाग नलिने तयारी गरेपछि सोडारीले राजीनामा दिने भन्दै प्रदेशसभा बैठकमा सहभागी हुन अनुरोध गरेका थिए।
सभामा सम्बोधन गर्दै राजीनामा दिन सोडारी सहमत भएपछि कांग्रेस र एमालेका सांसदहरू पनि प्रदेशसभा बैठकमा सहभागी भएका थिए।
यसअघि नै कांग्रेस र एमालेले भने सोडारीले विश्वासको मत माग्नका लागि आह्वान गरिएको संसद् बैठकमा सहभागी नहुने रणनीति बनाएका थिए।
५३ सदस्यीय प्रदेशसभा सञ्चालन हुनका लागि कम्तीमा पनि २५ प्रतिशत सांसद उपस्थित हुनुपर्छ। यो भनेको १४ जना हो। तर सोडारीले विश्वासको मतका लागि प्रस्ताव गर्ने दिनमा १४ जना पनि जुटाउन नसक्ने स्थिति सिर्जना भएको थियो।
केन्द्रमा नयाँ गठबन्धन बनेसँगै एमालेले असार २० गते उनलाई दिएको समर्थन फिर्ता लिएको थियो।
गत वैशाख ६ गते सोडारी सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्त भएका थिए।
यसअघि वैशाख २ गते नेकपा एससमेतको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री बनाउने तयारीमा सोडारी थिए। तर नाउपाकै दुई जना सांसदले छुट्टाछुट्टै रूपमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।
एकै पार्टीबाट दुई जनाको मुख्यमन्त्रीमा दाबी पेस भएपछि प्रदेश प्रमुख नजिर मियाँले अध्ययन र आवश्यक परेको खण्डमा सांसदको सनाखत गराउने भन्दै वैशाख ४ गतेसम्मका लागि समय दिएका थिए।
मुख्यमन्त्रीमा कुनै पनि व्यक्ति नियुक्त नहुँदै वैशाख ४ गते नै एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीनिकट लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता गर्यो।
सत्ता गठबन्धनभित्र दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने निर्णय भएपछि एकीकृत समाजवादीले लक्ष्मण किशोरलाई दिएको समर्थन फिर्ता लिएको थियो।
प्रदेश प्रमुख मियाँले नाउपाका दुवै जनासँग स्पष्ट बहुमत नभएको भन्दै मुख्यमन्त्रीका पुनः दाबी पेस गर्न आह्वान गरेका थिए। यसपछि एमाले र माओवादी केन्द्रसमेतकव समर्थन लिएर सोडारी मुख्यमन्त्री बने।
सोडारीले नेकपा माओवादीका १०, एमालेका १०, नागरिक उन्मुक्तिका २, स्वतन्त्र १ र एकीकृत समाजवादी पार्टीका ४ जना सांसदको लिखित समर्थन जुटाएका थिए।
सुदूरपश्चिम सरकारमा दुई पटक मन्त्री बनेका सोडारी प्रदेशको चौथो मुख्यमन्त्री बनेका थिए।
उनी २०७४ सालमा नेकपा एमालेबाट कैलालीको क्षेत्र नम्बर ४ बाट प्रदेश सभामा चुनाव जितेर सामाजिक विकास मन्त्री बने। २०७७ सालमा महिलासँगको अश्लील संवाद बाहिरिएपछि मन्त्रीबाट हटाइएका थिए।
तत्कालीन नेकपाले उनलाई निलम्बन गरेको थियो। तर नेकपा विभाजन भएपछि माधवन नेपाल पक्षमा लागे। उनको कारबाही फुकुवा भयो।
सोडारी २०७९ को निर्वाचनपछि पुनः सुदूरपश्चिम प्रदेशमा भौतिक पूर्वाधार तथा विकास मन्त्री बनेका थिए।


