काठमाडौँ- कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन्। सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई नेपाली कांग्रेस र एमालेका सांसदहरुले विश्वासको मत दिएका हुन्।
मुख्यमन्त्री कँडेलले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत पाऊँ भनेर प्रदेशसभा समक्ष प्रस्ताव पेस गरेका थिए। ४० सदस्यीय प्रदेश सभामा ३८ जना सांसदहरु सहभागी थिए।
कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा छन् भने राप्रपा सांसद सन्तोषी शाही बैठकमा उपस्थित थिइनन्। सभामुखसहित ३८ मध्ये मतदानमा ३७ जना सदस्य सहभागी भएका थिए।
सहभागीमध्ये मुख्यमन्त्री कँडेलको पक्षमा २३ र विपक्षमा १४ मत पर्यो। एमाले संसदीय दलका नेता समेत रहेका कँडेललाई एमालेका ९, कांग्रेसका १४ जना सांसदले मत दिएका थिए।
यस अघि बैशाख १३ गते विश्वासको मत माग्दा पनि उनले २३ मत नै पाएका थिए। त्यसबेला प्रस्तावको विपक्षमा १२ सांसदले मतदान गरेका थिए। विश्वासको मत लिने प्रस्तावमा ३५ जना मतदानमा सहभागी भएका थिए।
विपक्षमा मत दिनेको संख्या भने अहिले बढी छ। माओवादी केन्द्रका १३ जना र समाजवादीको एक जना सांसदले आज विपक्षमा मतदान गरेका थिए। ४० सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि कम्तीमा २१ सिट आवश्यक पर्छ।
मुख्यमन्त्री कँडेलले आफू कर्णालीको विकास र समृद्धिका लगातार अग्रसर भइरहने बताए। कँडेल चैत्र २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। उनले वैशाख १३ गते पहिलो पटक संसदबाट विश्वासको मत पाएका थिए।
त्यो बेला माओवादी र समाजवादीको समर्थन पाएका उनले केन्द्रमा बदलिएको समीकरणसँगै कर्णालीमा पनि कांग्रेस–एमालेबिच सरकार बनेको छ।


