बुटवल- बुटवलमा साँढेको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ।
साँढेको आक्रमणमा परी गम्भीर घाइते भएकी ४५ वर्षीया सीता पाण्डेको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो। उपचारका क्रममा शनिबार राती मृत्यू भएको प्रहरीले जनाएको छ।
गुल्मीको रेसुंगा नगरपालिका-४ की सीता बुटवल उपमहानगरपालिका–३ गोलपार्कमा भाडामा बस्दै आएकी थिइन्। उनले पुल्चोक नजिक खाजा पसल चलाउने गरेकी थिइन्।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितका अनुसार साउन २० गते डेरी पसलमा दूध लिन जाने क्रममा सीतालाई साँढेले आक्रमण गरेको थियो।
सडकमा जुधिरहेका छाडा साँढेको आक्रमणमा परेकी उनको मृत्यु भएको हो।
नजिकैको डेरी पसलमा दूध लिनका लागि सीता जाँदै थिइन्। त्यही बेला साँढे आक्रमण गरेको थियो।


