काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदै छ।
ललितपुरको सानागाउँस्थित थसी बैंक्वेटमा साउन ३० गतेसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, पार्टीको सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल हुने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए।
देशव्यापी रूपमा सदस्यता वितरण, सङ्गठन निर्माण र परिचालन, प्रशिक्षण, सेमिनार, गोष्ठी, जनसभालगायत आवश्यक कार्यक्रमहरूका लागि आवश्यक जनपरिचालन अभियान सम्बन्धमा कार्ययोजना तथा कार्यक्रम निर्माणलगायत विषयमा बैठकमा विचारविमर्श हुने अध्यक्ष यादवले बताए।
उनका अनुसार वर्तमान राष्ट्रिय राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, पार्टीको वैचारिक एवं सैद्धान्तिक अवधारण तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा छलफल हुनेछ।
बैठकमा एकताको राष्ट्रिय महाधिवेशनले तय गरेको पार्टीको वैचारिक, सैद्धान्तिक, अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक अवस्थाबारे छलफल हुने जसपा नेपालले जनाएको छ। वर्तमान भूराजनीतिक परिस्थिति र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध बैठकको कार्यसूची छ।
यस्तै, पहिचान र राष्ट्रिय/जातीय मुक्तिको सवाल, समाजवादसम्बन्धी अवधारणा जसपा नेपालको आदर्श, वैचारिक एवं सैद्धान्तिक अवधारण तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा छलफल हुनेछ।
स्थानीय तह, प्रदेशसभा र संसद्मा पार्टीको भूमिका, पार्टी विस्तार तथा सुदृढीकरण कार्ययोजना सम्बन्धमा पनि छलफल हुने जनाइएको छ।
