काठमाडौँ- दुई दिने नेपाल भ्रमणका लागि आएका भारतीय विदेश सचिव विक्रम मिश्री राजनीतिक भेटघाटमा व्यस्त बनेका छन्।
नेपालकी परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा नेपाल आएका मिश्रीले राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता र मन्त्रीहरूलाई भेटिरहेका छन्।
सोमबार दिँउसो मिश्रीले परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भेट गरे। मन्त्रालयमा भएको भेटमा द्विपक्षीय सम्बन्धका विविध पक्षका साथै आर्थिक एवं विकास सहायता तथा आयोजनालगायतका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
भेटमा मन्त्री डा राणाले नेपाल भारत ‘एयर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाई रुटको उपलब्धताका लागि सचिव मिस्रीमार्फत् भारतसँग कुरा उठाएकी थिइन्।
मन्त्री डा राणाले नेपाल र भारतका सीमा क्षेत्रहुँदै आयात हुने तरकारी तथा फलफूलको गुणस्तर मापनसम्बन्धी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न भारतको पहलका लागि पनि कुरा उठाइन्।
भेटवार्ताका क्रममा पञ्चेश्वर आयोजनाका बाँकी काम अघि बढाउने बारेमा मन्त्री डा राणाले उठाएको विषयमा यसका धेरैजसो समस्या समाधान भइसकेका र बाँकी प्राविधिक समूहमार्फत अघि बढेर सम्बोधन गरिने विषयमा छलफल भएको थियो।
त्यसैगरी मन्त्री डा राणाले टनकपुर बाँधको नहरमा पानी छोड्न, बाडगङ्गा, खाँडो र राप्ती नदीको बाढी नियन्त्रण तथा जोखिम कम गर्ने सम्बन्धमा आवश्यक सहायता उपलब्ध गराउने विषयमा सचिव मिस्रीमार्फत् भारत सरकारसँग कुरा उठाउँदै दार्चुलामा महाकाली नदीमा निर्माण गरिएको पक्की पुल उद्घाटनको प्रसङ्ग पनि उठाइन्।
मन्त्री डा राणाले व्यापार तथा पारवहनसम्बन्धी वार्तालाई निरन्तरता दिनुपर्ने विषयमा पनि कुराकानी गरेकी थिइन्। जाजरकोट भूकम्पमा परेका पीडितको उद्धार र सहायताका लागि भारत सरकारको सहयोगप्रति धन्यवाद ज्ञापनसमेत गरेकी थिइन्।
आइतबार काठमाडौँ अवतरण भएका उनलाई परराष्ट्रसचिव सेवा लम्सालले विमानस्थलमा स्वागत गरेकी थिइन्।
काठमाडौमा लम्सालको स्वागत ग्रहण गरेपछि उनी भवन उद्घाटनमा सहभागी भएका थिए। भूकम्पपछिको पुनर्निर्माणका लागि भारतको अनुदान सहयोगमा काठमाडौंस्थित नेपाल भाषा परिषद्को नयाँ भवनको उद्घाटन उनले गरेका थिए। मिस्री र सरकार सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले संयुक्त रुपमा भवन उद्घाटन गरे।
त्यसपछि मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिक दलका नेताहरूसँग भेटको क्रमलाई तीव्रता दिएका थिए।
राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति भवन शीतल निवासमा आइतबार भेट भएको थियो। अवसरमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाल-भारत मिलेर काम गर्नुपर्ने बताएका थिए।
‘हिमाल र पानीको सुरक्षा नै मानवजातिको सुरक्षा निर्भर रहेको हुनाले जलवायु परिवर्तनको असर न्यूनीकरणमा दुवै देश मिलेर काम गर्न जरुरी छ’, राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै प्रेस सल्लाहकार किरण पोखरेलले बताए।
राष्ट्रपति पौडेलले नेपाल-भारतबीच अनादिकालदेखि जनस्तरसम्मको सम्बन्ध रहेको र नेपालको विकासमा भारतको ठूलो सहयोग रहेको उल्लेख गर्दै सचिव मिस्रीको कार्यकालमा दुवै देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास जनाए।
राष्ट्रपति पौडेलले आपसीहित र समृद्धिका लागि दुई देशबीचको मित्रता र सहकार्य अझ मजबुत बनाउनुपर्छ भन्ने लागेको छ भन्दै कृषिको आधुनिकीकरण, पूर्वाधार विकास, जलविद्युत्, व्यापार, लगानी, पर्यटन तथा मानवसंशाधन विकास नेपालको प्राथमिकता रहेको बताएको पोखरेलले जानकारी दिए।
भारतीय विदेश सचिव मिस्रीले जलवायु परिवर्तनको असर न्यूनीकरणको विषय दुवै देशका लागि चुनौती रहेकाले यसमा मिलेर काम गर्ने प्रतिवद्धता जनाए । नेपाल सरकारका कैयौँ योजनामध्ये ऊर्जा, कृषि, पर्यटनजस्ता नेपालको प्राथमिकतमा भारत पनि काम गर्न इच्छुक रहेको भन्दै उनले काम अगाडि बढिरहेका आयोजना यथाशीघ्र सम्पन्न गरेर नयाँ र प्राथमिकताका क्षेत्रमा काम गर्न भारत इच्छुक रहेको पनि जानकारी दिए।
नेपाल-भारतबीचको सम्बन्ध जति सुमधुर हुन्छ त्यति नै दुवै देशका जनताको हित हुने उल्लेख गर्दै विदेश सचिव मिस्रीले भारतले स्थिर, शान्त र समृद्ध नेपाल हेर्न चाहेको पनि प्रष्ट पारेको प्रेस सल्लाहकार पोखरेलले सुनाए।
प्रधानमन्त्री ओलीसँगको भेटमा मिश्रीमार्फत ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा पठाएका छन्।
आइतबार शिष्टाचार भेटका क्रममा ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
आइतबारै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आइतबार भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ।
भेटमा नेपाल-भारत सम्बन्ध र पारस्परिक हितकारी सहयोगलाई अगाडि बढाउने तथा थप सुदृढीकरण गर्ने विषयमा छलफल भएको थियो ।
त्यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा भएको भेटमा दुई देशको आपसीहितका विषयमा कुराकानी भएको अध्यक्ष दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।
उनीहरूबीच पारस्परिक सम्बन्ध अभिवृद्धि गर्ने विषयमा महत्वपूर्ण छलफल भएको बताइएको छ।
सचिव मिस्रीको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै छिमेकी पहिलो नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गरेको दाहाल सचिवालयले जनाइएको छ।
उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग मिश्रीले सोमबार भेट गरे। भेटमा महाकाली नदिमा झोलुङ्गे पुल निर्माणका लागि सहमति लिने प्रक्रिया सहज बनाउन भारतसँग आग्रह गरेका छन्।
सोमबार सिंहदरबारमा भारतीय विदेश सचिव विक्रम मिश्री नेतृत्वको टोलीसँग भेटका क्रममा सिंहले महाकाली नदीमा पुल नहुँदा वर्षेनि नेपालीहरूले ज्यान गुमाउनुपरेको कुरा अवगत गराए।
उनले महाकालीका तुइन विस्थापित गरि झोलुङ्गे पुन निर्माणका लागि सहमति लिने प्रक्रिया सहज बनाउन आग्रह गरेका हुन्।
जवाफमा भारतीय सचिवले आफुले झोलुङ्गे पुन निर्माणका लागि सहमति दिनका लागि सकारात्मक रहेको बताएको सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाले जानकारी दिए।
भेटका क्रममा नेपालको आर्थिक पूर्वाधारमा गरेको सहयोगको समिक्षा, नेपालको शहरी बिकासको क्षेत्रमा सम्भाव्य सहयोग लगाएतका बारेमा पनि कुराकानी भएको गेलालले बताए।
त्यस्तै भेटवार्ताका क्रममा आगामी दिनमा दुई देशबीचको सहकार्यलाई मजबुद बनाउने बिषयमा छलफल भएको गेलालले बताए।
सोमबार मिश्रीले गृहमन्त्री रमेश लेखकसँग भेट गरे। सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा गृहमन्त्री लेखकले नेपाल र भारतबीच सौहार्दपूर्ण सम्बन्ध रहीआएको उल्लेख गर्दै विदेश सचिव मिस्रीको कार्यकालमा यो सम्बन्ध थप विस्तार र सुदृढ हुनेमा आफू विश्वस्त रहेको बताए।
भारत नेपालको सुरक्षा, पूर्वाधार, उर्जा, जलश्रोतलगायतका क्षेत्रमा महत्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै उनले भारतले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धिसहित नेपालको पूर्वाधार निर्माणमा पु¥याएको सहयोगका लागि विदेश सचिव मिस्रीलाई धन्यवाद दिए।
गृहमन्त्री लेखकले नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रहरुका विरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरेका थिए। गृहमन्त्री लेखकले नेपालमा भारत सरकारबाट भएको लगानीको पूर्ण सुरक्षा प्रत्याभूति हुने जनाउँदै सीमाक्षेत्रमा देखिने गरेको अपराध र लागूऔषध अवैध कारोबार नियन्त्रणका लागि आपसी समन्वय र सहकार्य बढाउनुपर्ने विषयमा विशेष जोड दिनुभएको उनको सचिवालयले जनाएको छ।
सो अवसरमा भारतीय विदेश सचिव मिस्रीले सीमा व्यवस्थापन, सीमापार हुने अपराध तथा दुवै मुलुकका नागरिकको सुरक्षाका लागि नेपाल सरकारसँग समन्वय गर्ने र आफ्नो तर्फबाट समेत सहयोग हुने स्पष्ट पारेका थिए। नेपालको सुरक्षा निकाय र अध्यागमन प्रशासनलाई सुदृढ बनाउन भारत सरकारका तर्फबाट सक्दो सहयोग हुने प्रतिवद्धता व्यक्त गरे।
यस्तै उनले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग पनि भेट गरेका छन्। अर्थ मन्त्रालयमा भएको भेटमा उनीहरुबिच आर्थिक तथा विकास सहायता, चालू आयोजनाको तीव्रता, दुई देशबिचको आपसी सम्बन्धलगायतका विषयमा छलफल भएको थियो।
भारतीय विदेश सचिव मिस्री दुई दिने भ्रमणका क्रममा आइतबार काठमाडौँ आइपुगेका थिए।
मिश्री सोमबारै स्वदेश फर्कँदैछन्।
