काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्ने भएको छ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान संसदीय दलको बैठक आह्वान गरिएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ। सो बैठकअघि बिहान १०ः३० बजेका लागि रास्वपाको बैठक बस्न लागेको हो।
रास्वपाले संसदीय दलको बैठकमा उक्त सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सम्बन्धमा छलफल गर्ने प्रवक्ता झाले जानकारी दिए।
यस्तै, प्रतिनिधिसभाको बैठक र समितिमा छलफल भइरहेका विधेयकसम्बन्धी विषयमा पनि छलफल गरिने उनले बताए।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र प्रस्तावित जलनसम्बन्धी गैरसरकारी विधेयकसम्बन्धी छलफलसमेत हुने उनले बताए।


