काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा आइतबार दिउँसो मछिन्द्र क्लबले एपीएफलाई २–१ ले हराएको छ। दशरथ रंगशालामा सम्पन्न खेलमा १–१ को बराबरीको अवस्थामा अफिज ओलावाले ओलादिपोले गोल गरेपछि मछिन्द्रले जित निकालेको हो।
पहिलो हाफमै बराबरी भएको खेलमा मछिन्द्रलाई जित दिलाउन ओलावालेले इन्ज्युरी समयमा पोस्ट अघिबाट विजयी गोल गरे।
यो जितसपछि २४ अंक बनाएको साविक विजेता मछिन्द्र उपाधि होडमा समेत फर्किएको छ। आज मछिन्द्र र एपिएफको खेलसँगै लिगमा १५ औं चरणका खेलसमेत सकिएको छ। १५ औं चरणका खेल सकिएपछि मछिन्द्रको शीर्षस्थानको चर्च बोइजभन्दा तीन अंकले मात्र पछि छ।
चर्च बोइजको २७ अंक हुँदा जावलाखेल, थ्रिस्टार र मछिन्द्रको समान २४–२४ अंक रहेको छ। आजको खेलको ३६ औं मिनेटमा अर्मान्ड बिडोमले गोल गरेपछि एपिएफले अग्रता बनाएको थियो। तर पहिलो हाफको इन्जुरी समयमा मछिन्द्रका ओमोलाजा करिमले फ्रि किकमार्फत् गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
त्यस्तै आजकै खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले संकटासँग १–१ को बराबरी खेलेको छ। खेलमा आर्मीका लागि भरत खवासले गोल गरेका थिए। खेलको १८ औं मिनेटमा उनले गरेको गोललाई बराबरी गर्नका लागि संकटाका लेबनानी फरवार्ड युसुफ एट्रिसले पेनाल्टीमा गोल गरे।
१६ अंक मात्र बनाएर रेलिगेशन क्षेत्रमा रहेको संकटाले १५ खेलबाट अहिले १७ अंक जोडेको छ। आर्मीले समान १५ खेलबाट २१ अंक जोडेको छ। आर्मी छैटौं स्थानमा छ।
